जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको चाहनाअनुसार संविधान संशोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको दावी गरेका छन् ।

शनिबार धनुषामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री हुँदा आफूले दुई पटक संसद सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गरेको दावी गर्दै ओलीका कारण छलफलै हुन नसकेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘तपाइँहरूलाई थाहा छ या छैन, मैले दोस्रो चोटी प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा संविधान संशोधनका लागि दुई पटक प्रस्ताव संसदमा दर्ता गराएको थिएँ । तर, त्यो संशोधन र परिमार्जनको प्रस्ताव केपी ओलीकै कारणले संविधान संशोधन हुन सकेन ।’
मधेस जनताको हक अधिकारका निम्ति र मधेसको विकाससँगै समृद्धि तथा विकासका लागि पाँच दलीय गठबन्धन बनाएको उनले प्रष्ट पारे ।
अध्यक्ष प्रचण्डले भने, ‘संविधान, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था र जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि गठबन्धन अनिवार्य छ ।’ अहिले गठबन्धनको पक्षमा देशभरी लहर आएको समेत उनले दाबी गरे ।











