Logo
Logo

देशभर गर्मी बढ्दै, मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ असार । नेपालमा मनसुन प्रवेश गरेको बताइएको १३ दिन बितिसक्दा पनि मनसुन सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले ५ असारमै मनसुन भित्रिएको घोषणा गरेको थियो ।
मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन् तीन/चार दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यून चापीय रेखा मध्य भारतमै रहेकाले मनसुन कमजोर भएको महाशाखाका मौसमविद् राजु प्रधानाङले बताए । उक्त प्रणाली बिस्तारै नेपालसम्म आई पुग्न तीन–चार दिन लाग्नेछ, उनले भने । अहिले मनसुन कमजोर अवस्थामा रहेकाले हल्का र क्षणिक वर्षा मात्र भएको बताइएको छ । तत्काल भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि मध्याह्नमा चर्को घाम लाग्ने र दिउँसो बदली हुने क्रम जारी छ । आंशिक बदली र घाम लाग्ने क्रमले गर्दा उपत्यकाका बर्ढी गर्मी महसुस गरिएको छ ।
तीन दिनयता काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेकामा बुधबार ३१ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यसअघि जेठ ३१ गते यो वर्षकै बढी तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।
राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरै जसो स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । मध्य र पश्चिमको एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
त्यस्तै शुक्रबार देशभर सामान्य बदली रही देशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन प्रवेश गर्ने समय जुन १० हो । यस वर्ष १२ दिन ढिलो गरी मनसुन भित्रिए पनि अझै सक्रिय बन्न्न सकेको छैन । नेपालमा साधारणतयाः जुन १० देखि सेप्टेम्बर २३ सम्म चार महीनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करीब ८०५ वर्षा हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्