Logo
Logo

मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा


693
Shares

दमौली । स्थानीय तह निर्वाचनको मतगणनाका लागि तनहुँमा मतगणनास्थल तयार गरिएको छ ।

सुरक्षित तरिकाले मतगणना गर्नका लागि जिल्लाका १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरेको हो ।

निर्वाचनपछि मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित अन्य पालिकाकामा तारबारसहित मतगणनास्थल सुरक्षित पारेर सिसी क्यामेरा पनि जडान गरिएको छ ।

व्यास नगरपालिकाको मतगणनाका लागि जिल्ला समन्वय समितिको तीनवटा कोठामा मतगणनास्थल तयार गरी एकैपटक मतगणनाका लागि बाँसको घेराबार लगाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले जानकारी दिए ।

त्यहाँ सिसी क्यामेरा जडान गरिएको छ । “सबैलाई चित्तबुझ्दो हुने गरी भरपर्दो र सुरक्षित बनाउन आयोगले दिएको निर्देशनबमोजिम मतगणनास्थल बनाएका छौँ”, उनले भने, “स्थानीयस्तरमै पाइने बाँस प्रयोग गरी घेराबार गरिएको छ ।”

ढुंगानाका अनुसार व्यास नगरपालिकाको मतगणना बढीमा पाँच दिनमा सक्ने तयारी गरिएको छ । देवघाटस्थित निर्वाचन अधिकृतको कार्यालयले वडा नं. ५ स्थित सभाहलमा मतगणनास्थल तयार गरेको छ ।

दुई ठाउँमा मत गन्नका लागि गणनास्थल तयार गरिएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिए । घिरिङस्थित निर्वाचन अधिकृतको कार्यालयले गाउँपालिकाको कार्यालय भवनमा मतगणनास्थल तयार गरेको छ ।

दुई ठाउँमा मत गन्नका लागि गणनास्थल बनाइने निर्वाचन अधिकृत किर्तनराज पौडेलले जानकारी दिए । उनका अनुसार मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिनेछ ।

आँबुखैरेनीस्थित निर्वाचन अधिकृतको कार्यालयले पनि गाउँपालिकाकै भवनमा मतगणनास्थल बनाएको छ ।
फलामको तारजालीले बारेर सिसी क्यामेरा जडान गरी मतगणनास्थल बनाइएको निर्वाचन अधिकृत चिरञ्जीवी पौडेलले जानकारी दिए ।

यसैगरी मिन माध्यमिक विद्यालयमा तीनवटा कोठामा मतगणनास्थल तयार गरिएको सहायक निर्वाचन अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

“मतगणनास्थल तयार भइसकेको छ, प्रत्येक कोठामा सिसी क्यामेरा पनि जडान गरेका छौँ”, उनले भने । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ४४५ जनप्रतिनिधि निर्वाचित गर्न दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् ।

गत स्थानीय तहको निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस्