रौतहट । रौतहटको बृन्दावन नगरपालिकाका मतगणना अन्योलमा परेको छ । निर्वाचन भएको झन्डै २ दिन बितिसक्दा पनि सो पालिकामा मतगणना सुरु हुन सकेको छैन ।
बृन्दावनका निर्वाचन अधिकृत उमेश राज रिमालले राजनीतिक दलकै विवादका कारण मतगणना सुरु हुन नसकेको बताए । यता बृन्दावनको मतगणना स्थलबाट सोही पालिकाका निमित्त प्रशासकीय अधिकृत नागेन्द्र राय यादव र शिवजि साह र निर्वाचन अधिकृत उमेश राज रिमाललाई नहटाए सम्म मतगणना सुरु नहुने कांग्रेस बाहेकका अन्य राजनीतिक दलहरुको अडान रहेको छ ।

उनीहरु कांग्रेससंग आर्थिक चलखेल गरेर मतपेटिका बदल्ने खेलमा लागेको नेकपा एकीकृत समाजवादीका नगरप्रमुख पदका उम्मेदवार विनोद प्रसाद पटेलले आरोप लगाएका छन् । मतगणना सुरु हुन नसक्दा मत परिणाम सुन्न २ दिनदेखि टेन्ड लगाएर बसेका विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु आक्रोशित बनेका छन् ।
जिल्लाको अन्य पालिकाको मत परिणाम धमाधम सार्वजनिक भइरहदा बृन्दावनको मतगणना सुरुनै नहुँदा मतदाता र विभिन्न दलका कार्यकर्ताहरु आक्रोशित बनेका हुन् ।
आक्रोशित बनेका मतदाता र कार्यकर्ता पटक पटक मतगणना स्थलको गेटमा पुगेर हो-हल्ला गर्न थालेपछि बृन्दावनको मतगणना स्थलमा प्रहरी र सेना परिचानल गरिएको छ । बृन्दवनको अवस्था अहिले पनि तनाव ग्रस्त नै रहेको छ ।











