
काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा भने नेपाली कांग्रेसका आश्राचन राई विजयी भएका छन् ।
रुम्दालीले ५ हजार २१ र राईले ४ हजार ७ सय ५० मत प्राप्त गरे भने रुम्दालीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रुपलाल तामाङले ३ हजार ८ सय १५ मत ल्याएका छन् ।
अध्यक्षमा निर्वाचित स्वतन्त्र उम्मेदवार रुम्दालीलाई कांग्रेसको समर्थन थियो । त्यस्तै, उपाध्यक्षमा निर्वाचित राईले ४ हजार ७५० मत पाएका छन् । सो पदमा एमालेको समर्थनमा जसपाका दीपेन्द्र रुम्दालीले २ हजार ७ सय ७७ मत पाए ।
अध्यक्षमा निर्वाचित रुम्दाली कांग्रेसका तरुण दलका पूर्वजिल्ला अध्यक्ष समेत हुन् । २०७४ को प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिएवापत रुम्दाली पार्टीबाट कारबाहीमा परेका थिए । कारबाही फुकुवा नभएका कारण उनलाई रुख चिन्हबाट चुनाव लड्न समस्या भएको थियो । उनले धारा चिन्हबाट चुनाव जितेका हुन् ।
तर, कांग्रेसले उनलाई समर्थन गर्दै चुनाव चिन्ह भने स्वतन्त्र दिएको हो । उनले स्वतन्त्र चुनाव चिन्ह पाएकै कारण उपाध्यक्ष पदमा पनि पुरुषलाई नै पार्टीले उम्मेदवार बनाएको थियो । त्यस्तै मानेभन्ज्याङको जम्मा ९ वटा वडाहरुमा ७ वटामा कांग्रेस विजयी भएको छ ।
त्यस्तै, कांग्रेसका वडाअध्यक्षहरु १ मा राजकुमार रुम्दाली, २ मा राममणि राई, ५ मा रामकुमार राई, ६ मा हेमराज राई, ७ मा विष्णुप्रसाद गौतम, ८ मा भीमबहादुर बलम्पाकी मगर र वडा नं. ४ मा विष्णु तामाङ विजयी भएका छन् । एमालेबाट ९ को वडाअध्यक्षमा पूर्णबहादुर मगर, ३ मा जितेन्द्र राई विजयी भएका छन् ।











