
काठमाडौं । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात भएको छ । मंगलबार बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले हातपात गरेका हुन् ।
व्यावसायी समेत रहेको अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन् । उक्त वडामा कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित भएका थिए । आफ्ना पार्टीको उम्मेदवार हराउन भूमिका खेलेको आरोप लगाउँदै कार्यर्कताले उनीमाथि हातपात गरेका हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट विराटनगर-१५ को अध्यक्ष जितेका उनी कांग्रेस प्रवेशपछि वडा नम्बर १७ को उम्मेदवार बनेका थिए । आलम जसपाका उम्मेदवार समिम कमर मियाँसँग ५०६ मतले पराजित भए । कमर १४५० मतसहित विजयी हुँदा आलमले ९४४ मत ल्याएका थिए ।
मंगलबार अन्सारीले आफ्नै घरमा निर्वाचन समीक्षा छलफल राखेका थिए । छलफलका क्रममा उनीमाथि हातपात भएको हो । हातपात भएको विषयमा आलमले इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिएका छन् । प्रहरीले दुवै पक्षसँग छलफल गरेको छ ।
अन्सारीले आफूमाथि गुण्डाको समूहले आक्रमणको प्रयास गरेको बताए का छन् । आफूलाइ २–४ जना सहकर्मीले बचाएको उनको भनाई छ ।














