
काठमाडौं । झापाको मेचीनगर–७ मा हावाहुरीसहित वर्षा हुँदा १ मजदुर घाइते भएका छन् । उनलाई कुखुराको खोर ढलेर किचेको थियो ।
रौनिका कृषि तथा पशुपालन फार्मका कर्मचारी साजन लिम्बू घाइते भएका हुन् । कुखुरा फार्मका १ हजार ८ सय चल्लासमेत मरेका छन् । हुण्डरीले बिजुलीका पोलमाथि रुख ढालेपछि मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति ठप्प भएको छ ।
पाक्न लागेको मकैबाली नष्ट भएको कृषकले बताएका छन् । हुरीसहितको वर्षाले लाखौंको क्षति भएको फार्मका सञ्चालक राजु थापामगरले बताए । फार्मका ३ वटा खोर हुरीले पूरै भत्किएका छन् । खोर, चल्ला र चारो गरी १२ लाखभन्दा बढीको क्षति भएको उनको भनाइ छ ।
सोही वडास्थित हरि कटुवालको कुखुरा फार्ममा खोर ढलेर ५ सय चल्ला मरेका छन् । कमला कृषि फार्मको बाख्राको पक्की खोरसमेत हुरीले उडाएर क्षति पु¥याएको छ । बालाजी नर्सरीका दुई टनेल भत्काएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त पाठकले पूर्वपश्चिम राजमार्गमा हावाहुरीले ढालेका थुप्रै रुखहरू हटाएर आवागमन खुलाइएको बताए ।














