Logo
Logo

इशान पाण्डे लण्डन इयर केयरको ब्राण्ड एम्बेसडर नियुक्त


378
Shares

काठमाडौं । नेपाली क्रिकेटर इशान पाण्डे लण्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा पाण्डे र संस्थाका निर्देशक राजन खकुरेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित थिए । उनले यस किसिमको सम्झौताले नेपाली खेलाडीलाई आर्थिक रूपमा थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

ब्राण्ड एम्बेसडरमा नियुक्त भएपछि पाण्डेले खुशी व्यक्त गर्दै आफूलाई यो अवस्थामा पुग्न सहयोग गर्ने क्यान र आफूलाई विश्वास गरेर जिम्मेवारी दिएको लण्डन इयर केयरलाई धन्यवाद दिए । लण्डन इयर केयर बेलायतको लण्डनमा रहेको कानको स्वास्थ्य तथा श्रवणसम्बन्धी सेवा प्रदान गर्ने संस्था हो । यसले कानको जाँच, कानमा जमेको मैन हटाउने, श्रवण परीक्षण तथा श्रवण सहायक उपकरण उपलब्ध गराउँदै आएको छ ।

संस्थाका निर्देशक खकुरेल बेलायतमा रहेर स्वास्थ्य सेवा, सामाजिक कार्य, सामुदायिक विकास तथा नेपाली क्रिकेटको प्रवद्र्धनमा सक्रिय छन् । उनले सन् २०१६ मा लड्र्स क्रिकेट मैदानमा नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच भएको ऐतिहासिक खेलमा टिकट व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए । सन् २०१८ मा नेपाल, नेदरल्याण्ड्स र एमसीसीबीच भएको त्रिकोणात्मक टी–२० श्रृङ्खलाको व्यवस्थापन तथा समन्वयमा पनि उनले भूमिका निर्वाह गरेका थिए ।

खकुरालले बेलायतमा रहेका नेपाली क्रिकेट टोली तथा खेलाडीलाई सहयोग गर्दै नेपाल र बेलायतबीचको खेलकुद सम्बन्ध विस्तारमा योगदान पु¥याउँदै आएका छन् । उनले सन् २०२४ मा ‘नेपाल–ब्रिटेन मिडिया पर्सनालिटी अफ द इयर’ सम्मानसमेत प्राप्त गरेका थिए ।

पाण्डेसँगको सहकार्यले लण्डन इयर केयरको पहिचान विस्तार गर्नुका साथै नेपाली क्रिकेट र बेलायतमा रहेका नेपाली समुदायबीचको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्