Logo
Logo

गृह मन्त्रालयमै चोर पसेपछि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिंहदरबारस्थित गृह मन्त्रालय छिर्नका पत्रकारलाई समेत निकै कठिन छ । कसलाई भेट्ने र किन भेट्ने भनेर निश्चित गरेपछि मात्र गेटका प्रहरीले मन्त्रालयभित्र छिर्न दिन्छन् । त्यस हिसाबले मन्त्रालयभित्रको सुरक्षा व्यवस्था निकै कडा छ जस्तो देखिन्छ । तर, वास्तविकता फरक छ । त्यही मन्त्रालयभित्रै हालै चोरी भएको छ ।

मन्त्रालयको दोस्रो तलामा रहेको सूचना विश्लेषण तथा समन्वय इकाईमा चोरी भएको हो । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका १/१ जना सिनियर अधिकारी कार्यरत हुन्छन् । तीनै वटा सुरक्षा निकायबाट आएका सूचना एकीकृत गरेर माथिल्लो तहमा ब्रिफिङ हुने गर्दछ । सोही शाखाबाट ल्यापटप र स्क्यानर चोरी भएको हो ।

चोरीको घटनालाई केही दिनसम्म गुपचुप राखियो पछि, चोर पत्ता लागेपछि मात्र मन्त्रालयकै अन्य कर्मचारीलाई थाहा भएको थियो । स्रोतका अनुसार मन्त्रालयको सुरक्षामा खटिने प्रहरी नै सो चोरीमा संलग्न थिए ।

सशस्त्र प्रहरीका एक जवानले शनिबारको दिन चोरी गरेका थिए । मन्त्रालयको सिसिटिभीको फुटेजबाट सो तथ्य खुलेको हो ।

पहिला सोही शाखामा काम गर्ने ती जवानले मन्त्रालयबाट सरुवाको रमाना लिइसकेका थिए । रमाना लिइसकेका व्यक्ति किन मन्त्रालयमा आए भनेर शंका गरी छानबिन गर्दा उनको डेरामा मन्त्रालयका ल्यापटप र स्क्यानर भेटिएको छ । तर, उनलाई चोरी मुद्दा भने चलेन । विभागीय कारबाहीका लागि सशस्त्र प्रहरी बललाई नै जिम्मेवारी दिइएको छ ।

त्यसो त कर्मचारीबाटै सिंहदरबारभित्र चोरी भएको यो नयाँ घटना होइन । यसअघि पनि चोरीकाण्डमा धेरै कर्मचारी परिसकेका छन् । उपसचिव नारायण चिमोरियाले गाडीको टायर चोरी गरेका थिए । अन्य चालक तथा कार्यालय सहयोगीहरु समेत पटक पटक चोरी काण्डमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्