काठमाडौं । भन्सार र राजश्वका कर्मचारीको अकूत सम्पत्ति लुकाएको आरोपमा उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष राजकुमार बस्नेत (होमबहादुर)माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । व्यापारमा कालोधनको लगानी र सम्पत्ति शुद्धीकरणको आरोप बस्नेतमाथि छ ।
सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भन्सारछलीका सामान भित्राउँदै ब्यापारमा हात हालेका उनका कम्पनीमा भन्सार र राजस्वका कर्मचारीले भ्रष्टाचारबाट कमाएको अकुत सम्पत्ति लगानी गरेको उजुरीका आधारमा आयोगले उनको फाइल पुनः ब्यूँताएको हो । ४ बर्षअघि अख्तियारका तत्कालीन प्रमुख आयुक्त दीप बस्नेतले तामेलीमा हालेको फाइल अहिले फेरि ब्युत्याइएको अख्तियार स्रोतले दृष्टिलाई बताएको छ ।

क्षमादेवी गु्रपका नाममा बस्नेतले पछिल्लो समयमा घर निर्माणमा प्रयोग हुने युपीभीसी, ट्रष्टको ब्यापार सुरु गरेका छन् । उनले युपीभीसीका नाममा एलसी खोलेर अरु सामान आयात गरेको सूचना पनि अख्तियारमा पुगेको छ ।
सिन्धुपाल्चोकदेखि सिन्धुलीसम्मको क्रसरमा समेत बस्नेतले लगानी गरेका छन् । रसुवादेखि विभिन्न आकर्षक भन्सारमा बसेर अकूत सम्पत्ति आर्जन गरेका अधिकृत श्याम बस्नेत, कृष्ण बस्नेत, लक्ष्मण बास्तोलालगायतका भन्सारका कर्मचारीहरुको लगानी पनि क्षमादेवी ग्रुपमा भएको उजुरीका आधारमा अख्तियारले छानबिन गरेको थियो । तर, दीप बस्नेतका भाइ श्याम बस्नेतले नै उक्त उजुरी यसअघि तामेलीमा हाल्ने भूमिका खेलेका थिए ।
नेपालका भन्सार र राजस्वका कर्मचारीको भ्रष्टाचारको पैसा लगानीको लहरो खोज्दै जाँदा क्षमादेवीका बस्नेतले सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेका क्रसरमा समेत लगानी गरेको अख्तियारको छानबिनमा खुलेको छ ।
अख्तियारले भन्सार र राजस्वका पूर्व र बहालवाला कर्मचारी कस कसले क्षमादेवीमार्फत् लगानी गरेका छन्, छानबिन गरिरहेको छ । कर्मचारीको अकूत सम्पत्ति छानबिन गर्ने क्रममा क्षमादेवीको कारोबारको छानबिन गर्दै जाँदा थुप्रैको लगानी भएको आशंकामा अख्तियारले छानबिन अगाडि बढाएको छ ।
स्रोतका अनुसार क्षमादेवीका बस्नेत, उनका परिवार र कम्पनीकै नाममा प्रशस्त जग्गा जमिन पनि अख्तियारको छानबिनका क्रममा देखिएको छ । राजकुमार बस्नेतका दाजु भूपाल बस्नेतदेखि अष्टे«ेलियामा बस्ने उनकी छोरी पवित्रा बस्नेत र राजेश बस्नेतसहित हदबन्दी छल्न ग्रुपका नाममा समेत काठमाडौंदेखि धेरै ठाउँमा जग्गाजमिन रहेको सूचना पनि अख्तियारले प्राप्त गरेको स्रोतले बताएको छ ।
नेपालमा क्षमादेवी कम्पनीबाट स्रोत नखुलेको पैसा हुन्डीबाट अष्टे«लिया पठाएर नेपालमा रेमिटेन्सका रुपमा भित्र्याएर सम्पत्ति शुद्धीकरण गर्दै आएको आरोप पनि बस्नेतमाथि छ । यसका आधारमा उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गर्न सक्ने आधार देखिएको छ ।











