Logo
Logo

आयोगले सोध्यो पोखराका मेयरलाई २४ घण्टे स्पष्टीरकण



कास्की । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको बदनियतका कारण चिह्न व्यवस्थापन गर्दा मत बदर भएको भन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

मेयर आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको भनी अभिव्यक्ति दिएका थिए ।

आयोगले उनलाई सोधेको छ, ‘तपाईंको अभिव्यक्तिहरु नगर प्रमुख जस्तो जिम्मेवार जनप्रतिनिधिलाई सार्वजनिक मञ्चमा बोल्न असान्दर्भिक र अशोभनीय देखिन्छन् ? तपाईंलाई निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिह्न कसरी राखिन्छ भन्ने जानकारी छ, छैन ? मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारीप्रति द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण के हो ?’

स्पष्टीकरण पत्रमा सोधिएको छ, ‘विज्ञ टोलीको सिफारिसमा कानून बमोजिम गरेको निर्णयलाई कुनै पदाधिकारीको एकल निर्णय करार गरी व्यक्तिगत दूराग्रह राखी आक्षेप लगाउन मिल्छ, मिल्दैन ?’

आमनागरिक र जनसमुदायमा भ्रम छर्ने गरी सार्वजनिक वक्तव्य दिई आयोगको निष्पक्षता र विश्वसनीयता माथि नै प्रश्न उठाएको भन्दै आयोगले २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्