काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसका मुद्दा उठाउँदै आएका राजनीतिक दलहरूले विगतका उपलब्धि र कमजोरीको गम्भीर समीक्षा गर्दै राष्ट्रिय शक्तिका रूपमा अघि बढ्नुपर्ने बताएका छन् ।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै घिसिङले २०६२/६३ पछिको करिब दुई दशकमा मधेसका राजनीतिक शक्तिहरूले उठाएका मुद्दा सही भए पनि तिनको कार्यान्वयन र उपलब्धिबारे समीक्षा आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘हामीले मुद्दाहरू उठायौँ, ती मुद्दालाई जनतामाझ पुर्यायौँ । ती मुद्दा समाधान भए कि भएनन् र हामीले उठाएका मुद्दा सही थिए भने त्यसको कार्यान्वयन भयो कि भएन भन्ने कुरामा गम्भीर समीक्षा हुनुपर्छ ।’
मधेसका राजनीतिक दलहरूले क्षेत्रीय शक्तिका रूपमा प्रभाव स्थापित गरे पनि राष्ट्रिय पार्टीका रूपमा स्थापित हुन नसकेकोमा समीक्षा गर्नुपर्ने घिसिङको भनाइ रहेको छ ।
उनले मधेसका मुद्दासँगै हिमाल, पहाड र तराईका मुद्दालाई सशक्त रूपमा उठाउने राष्ट्रिय राजनीतिक शक्ति आवश्यक रहेको बताए । आर्थिक रूपान्तरण, सुशासन र सामाजिक न्यायका लागि राष्ट्रिय पार्टी आवश्यक रहेको उनको भनाइ थियो ।













