Logo
Logo

मान्छे कम देख्दा कार्यकर्ता झपारे, हुइँ…हुइँ शङ्ख घण्टा बजाउन निर्देशन दिए !


43.5k
Shares

काठमाडौं । आइतबार नेकपा एमालेको महिला संगठन ‘अखिल नेपाल महिला संघ’ले विश्व वातावरण दिवसको सन्दर्भ पारेर कार्यक्रम आयोजना गरेको थियो ।

तुल्सीलाल स्मृति प्रतिष्ठानसमेत सहआयोजक रहेको कार्यक्रमको नाम ‘वृक्षरोपण र जागरण कार्यक्रम’ थियो ।

पार्टी कार्यालयसमेत रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेको एमालेको सहभाहलमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि थिए । ३० जना जति सहभागी पनि थिए । १०० जनाभन्दा धेरै अट्ने हलको अधिकांश कुर्सी खाली देखिन्थे ।

कार्यक्रममा ओलीले करिव एक घण्टा वातावरणबारे भाषण गरे । अन्तिममा भने मान्छे कम भएको र हलमा धेरै इको भएको भन्दै ओलीले नमज्जाले कार्यकर्ता झपारे ।

कार्यक्रमको अन्त्यतिर ओलीले सहभागीलाई सोधे–
मैले बोलेको तपाईंहरुले सुन्न त सुन्नु भयो ? बुझियो ? इकोले धेरै डिस्टर्व गरेन ? राम्रो बुझिएन ?

सहभागीले एकै स्वरमा भने–
साउण्ड राम्रो भएन, राम्रो सुनिएन ।

त्यसपछि रिसाएका ओलीले भने–
यो हल नबनाएसम्म यहाँ गोष्टी सेमिनार नगर्नुस्, शङ्ख घण्टा बजाउनुस् यस हलमा । अरु के काम लाग्यो र ? मज्जाले शङ्ख घण्टा बजायोयो भने हुइँ…हुइँ गुञ्जिरहन्छ । यो पहिले बनाउनुस् त्यसपछि गोष्टी सेमिनार गर्नुस् ।

निर्माण सम्पन्न नभएका कारण साउण्ड इको भएका कारण राम्रो नसुनिँदा ओली रिसाएका रहेछन् ।

त्यो भन्दा थोरै अगाडि नै ओलीले कार्यकर्तालाई मार झापारेका थिए । हलमा कार्यकर्ता काम भएका कारण ओली बम्के । कार्यकर्ता कम सहभागी हुँदा कुर्सी खाली देखेका ओलीले आयोजकलाई प्रश्नै प्रश्न गरे ।

त्यति मात्र होइन वातावरण जस्तो महत्वपूर्ण विषयमा आयोजना गरिएको कार्यक्रममा यति थोरै मान्छे ? कुर्सी खाली ? भन्दै ओलीले आश्चर्य प्रकट गर्दै प्रश्न गरे ।

ओलीले भने–
तपाईंहरुले यस्तो महत्वपूर्ण विषयमा गोष्टी आयोजना गर्दा महिलाहरु पनि यति मात्रै हुने ? वातावरणमा रुची भएका मान्छे पनि यति मात्रै हुने ? कुर्सी खाली भएको देख्दा अचम्म लाग्यो । अरुको फोक्सो छैन, श्वासै फेर्नु पर्दैन जस्तो ।

कार्यक्रममा किन मान्छे कम आए भन्ने ओलीले भेउ नै पाउन सकेनन् ।

त्यसपछि आयोजकलाई पुनः प्रश्नै प्रश्न गरे–
आमन्त्रण गर्नु कञ्जुस्याइँ हो कि ?
आफ्ना कुरा सुनाउन कञ्जुस्याइँ हो कि ?
मान्छेको रुची हराएको हो कि तपाईंहरुको सक्रियतामा कमि भएको हो ?

ओलीले थपे–
मैले बुझिन । यति सानो हल त मान्छे नआट्नु पर्ने हो । किन थोरै मान्छे हुनुभयो त्यो चै मैले बुझिन ।
वातावरण जस्तो महत्वपूर्ण विषयामा खबर पाएर पनि कोही आएन भने चाहिँ कठैबरा भन्नु पर्छ त्यस्ता व्यक्तिहरुलाई ।

प्रतिक्रिया दिनुहोस्