Logo
Logo

आयोजना प्रमुख पक्राउ परेलगत्तै सुनकोसी-मरिणको ठेक्का रद्द


630
Shares

काठमाडौं । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृह तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको नयाँ ठेक्का प्रक्रिया रद्द भएको छ ।

आयोजनाले सार्वजनिक सूचना जारी गर्दै ठेक्का रद्द गरिएको जानकारी दिएको हो । आयोजनाले सिभिल, हाइड्रोमेकानिकल कम्पोनेन्ट तथा सम्बन्धित संरचना निर्माणका लागि गत जुन ८ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । उक्त ठेक्काको आर्थिक प्रस्ताव आगामी सोमबार (कात्तिक १६ गते) खोल्ने तयारी गरिएको थियो ।

नयाँ ठेक्का प्रक्रियामा सहभागी कम्पनीमध्ये तीनवटा कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका थिए । उनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला आयोजनाले बोलपत्र नै रद्द गरेको हो ।

आयोजनाले सार्वजनिक गरेको सूचनामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) बमोजिम बोलपत्र रद्द गरिएको उल्लेख छ । ठेक्का रद्द गर्नुको विस्तृत कारण भने खुलाइएको छैन ।

यसअघि आयोजनाको बाँध र विद्युत् गृह निर्माणको जिम्मा पाएको रमण–पटेल संयुक्त उपक्रमसँगको ठेक्का तोडिएको थियो । काममा अपेक्षित प्रगति नभएको भन्दै आयोजनाले २०८२ कात्तिक २५ गते ठेक्का तोड्ने निर्णय गरेको थियो । त्यसपछि बाँकी कामका लागि नयाँ अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो ।

यसैबीच, सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाल र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरियालाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिएको थियो । उनीहरूलाई क्रमशः सिन्धुली र सिरहाबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो । पछि उनीहरूलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको थियो ।

दुई अधिकारी नियन्त्रणमा परेको घटना र ठेक्का रद्द हुने निर्णयबीचको सम्बन्धबारे भने आधिकारिक रूपमा केही खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्