
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले मन्त्री हेरफेर गर्ने निर्णय गरे पनि तत्काल कार्यान्वयन नहुने भएको छ । एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो ।
सोमबार नयाँ मन्त्रीहरूको नियुक्ति र सपथ गरिने बताइएको थियो । तर, बजेट अधिवेशन जारी रहेको र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने भएकाले बजेट पास नभएसम्म मन्त्री हेरफेर नहुने भएको छ ।
पार्टीले सिफारिस गरेका नयाँ मन्त्रीले धामधम बधाई खाइरहेका छन् । तर, उनीहरूको नियुक्ति र सपथ अन्योलमा परेको छ । यता, पार्टीले फिर्ता बोलाउने निर्णय गरेका चारै जना मन्त्री सोमबार दिनभर मन्त्रालयको काममा व्यस्त बने भने, नयाँ मन्त्रीमा सिफारिस भएका नेताहरू शपथ ग्रहणको समय कुर्दै दिन बिताए ।
एकीकृत समाजवादीबाट सरकारको नेतृत्व गरेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्री परिवर्तन गर्ने निर्णयबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले सोमबार दिउँसो दृष्टिसँग संक्षिप्त कुरा गर्दै भने ‘मन्त्री फिर्ता बोलाउने निर्णयबारे मलाई थाहा छैन । म मन्त्रालयमा काममै छु । केही बेरमा संसदमा जाँदै छु । त्यसपछि क्याबिनेट बैठकमा जाँदै छु ।’
पार्टी सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेबारे दृष्टिको प्रश्नमा उनले भने ‘मलाई थाहा भएन । म त्यो बैठकमा थिइनँ । मलाई त्यसबारे कुनै सूचना नै छैन ।’ मन्त्री फेर्ने बजारको हल्ला बजारमै सकिएको उनको टिप्पणी छ । बजेट अधिवेशन जारी रहेकाले बजेट पेश गरेको सरकार, मन्त्री फेर्ने कुरा विश्वमै नहुने उनले बताए ।
सुरुमै मन्त्रीको अवधि नतोकिएको र दलीय व्यवस्थामा काम गर्दै जाँदा आवश्यकताको आधारमा कोही बस्ने र कोही हट्ने हुन सक्ने उनले बताए । पार्टी नेतृत्वसँग कुरा नभएको समेत उनले बताए । अध्यक्षले बोलाएपछि थप छलफल हुने खतिवडाको भनाइ छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि सोमबार दिनभर मन्त्रालयकै काममा व्यस्त बने । उनले मन्त्रालयका कर्मचारीलाई ‘म रहन्छु’ भनेका छन् ।











