Logo
Logo

नेपाल टेलिभिजनमा ब्ल्याक आउट



काठमाडौं । हिजो सोमबार ३ बजेर ५ मिनेट जाँदा नेपाल टेलिभिजनको सम्पूर्ण सिग्नल डाउन भयो । पछि ४ बजेर २० मिनेटमा फेरि खुल्यो । यसको पछाडि कमिशनको खेल छ ।

नेपाल टेलिभिजनका भ्रष्ट कर्मचारीहरुसँग साँठगाँठ गरेर थाइकमले एकलौटी ढंगले दशौं वर्षदेखि नेपाल टेलिभिजनलाई शोषण गर्दै आएको छ । त्यसबाट नेपाल टेलिभिजनका कर्मचारीहरुले करोडौं कमिशन खाँदै आएका छन् । स्याटेलाइट भाडामा लिदा दीपकमणि धितालहरुले व्यापक भ्रष्टाचार गरेको थुप्रै उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि परेको छ ।

नेपाल टेलिभिजनले थाइकमसँग सुरुदेखि ३४ सय ९० अमेरिकी डलरमा प्रति मेगाहर्ज स्याटलाइट भाडामा लिदै आएको थियो । कार्यकारी अध्यक्षमा समिरजंग शाह आएपछि उक्त भाडा महँगो भएको र २ हजार ३ सय अमेरिकी डलरमा मात्र सम्झौता गर्न सकिने बताएपछि थाइकमले भाडा घटाउन बाध्य भएको थियो ।

कार्यकारी अध्यक्ष शाहले अर्थ मन्त्रालयको निर्देशनमा २३ सय अमेरिकी डलरमा पनि १५ प्रतिशत टिडिएस कटाउनुपर्ने अडान लिएपछि थाइकमसँग वर्षौँदेखि कमिशन खाएका पूर्व कर्मचारीहरु तिल्मिलाएका थिए ।

तिनै पूर्व कर्मचारीहरुको उक्साहटमा १५ प्रतिशत टिडिएस काट्नु हुन्न भनेर थाइकमले हिजो ब्ल्याकआउट गरेको स्रोतले बताएको छ ।

कमिशनका लागि स्याटलाइट कम्पनीलाई प्रयोग गरेर राष्ट्रको सञ्चार नेपाल टेलिभिजनलाई ‘ब्ल्याक आउट’ गर्नु गम्भीर अपराध हो । यस विषयमा अख्तियारले छानविन गरेर भ्रष्टाचारीहरुमाथि कारबाही गरेन भने बेला–बेला ‘ब्ल्याकआउट’को समस्या झेल्नुपर्ने कर्मचारीहरुले बताएका छन् ।

नेपाल टेलिभिजनजस्तो सरकारी सञ्चार माध्यममै वर्षौँदेखि भ्रष्टाचार हुनु र भ्रष्टाचारीमाथि कारबाही नहुनुले नेपाल टेलिकम पीडित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्