
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले बाजुराको बुढीगंगा नगरपालिकाको स्थगित निर्वाचनबारे अन्तिम निर्णय गर्ने जिम्मेवारी निर्वाचन आयोगलाई रहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले स्थगित निर्वाचनबारे के गर्ने ? भन्दै गरेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँडले यसबारे निर्वाचन आयोगले निर्णय गर्ने बताएका हुन् ।
गृहमन्त्री खाँडले भने– ‘बुढीगंगा नगरपालिकाको स्थागित निर्वाचनबारे सरकारले निर्णय गर्ने भन्दा पनि यसबारे निर्वाचन आयोगले निर्णय गर्छ । मतगणना गर्ने या पुनः मतदान गर्ने भन्नेबारे निर्वाचन आयोगको निर्णय अन्तिम हुन्छ ।’
सीडीओ र सुरक्षा प्रमुखले निर्वाचन सुरक्षा प्रदान गर्न नसकेको ठहर गर्दै सरकारले पुरानालाई हटाएर नयाँलाई पठाइसकिएको भन्दै गृहमन्त्री खाँडले अब निर्वाचनका लागि वातावरण बनिसकेको बताएका छन् ।
वैशाख ३० गतेको निर्वाचनमा सुरक्षा प्रदान गर्न नसकेको कारण निर्वाचन प्रभावित भएको भन्दै सरकारले तत्काली प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा र सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपक विष्टलाई फिर्ता बोलाइसकेको छ ।














