काठमाडौं । नेकपा एमालेका सांसद घनश्याम खतिवडाले मोरङको रतुमाई नगरपालिका–९ को जनता माविका प्रधानाध्यापकमाथि भएको कुटपिटको घटनाप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तारुढ दलका नेता तथा कार्यकर्ताबाट विद्यालयका प्राधानाध्यापक कुटिनु दुःखद भएको बताए ।

उनले जेठ २४ गते मोरङ जिल्लाको रतुमाई नगरपालिका वडा नं.९ जनता माविका प्रअ इश्वर खनाललाई त्यही वडाका निर्वाचित वडाध्यक्ष नेपाली कांग्रेसका इन्द्रबहादुर लिम्बुले पार्टी कार्यालयमा झुक्याएर बोलाई सन्तोष घिमिरेलगायतबाट निर्ममतापूर्वक कुटपिट गरिएको बताए ।
एउटा विद्यालयमा पढाउने प्रधानाध्यापकलाई कांग्रेसको पार्टी कार्यालयमा बोलाएर निर्घात कुटपिट गर्नुले सत्ताको दुरुपयोग भएको अनुभूति भइरहेको उनले जनाए ।
खतिवडाले प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्दै भने, ‘माथि विश्वविद्यालयदेखि ताला लगाउँदै अब विद्यालयका प्रअसम्म कुट्ने गरी कार्यक्रम झरेको हो ?’
कांग्रेसका नेता तथा कार्यकर्ताबाट कुटिएका प्रधानाध्यापक अहिले अस्पतालमा उपचार गराइरहेको उनले जनाए । कांग्रेसका नेता तथा कार्यकर्ताले प्रधानाध्यापकको परिवारलाई मिलापत्रको नाममा दबाब दिइरहेको उनले बताए ।
‘यो राज्य आतंक मुलुकले कहिलेसम्म खेप्नु पर्ने हो सभामुख महोदय ? यो गठबन्धन सरकारले नेपाली जनतालाई दिएको शान्ति सुरक्षाको प्रत्याभूति यही हो ?’ उनले भने, ‘अछाममा मान्छे मारिएको छ लाश उठ्दैन । दार्चुलमा मान्छे जिउँदै जलाइन्छ, सरकारले न्याय दिँदैन । बर्दियामा जनतामाथि गोली चलाउँछ । कहिलेसम्म सत्तारुढ दलको ज्यादती खप्ने हो ?’














