काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धनलाई निरन्तरता दिने वा नदिने भन्ने बारे तल्लो कमिटीहरुबाट सुझाव मागेको छ । गत वैशाख ३० मा भएको स्थानीय चुनावमा गठबन्धन अन्य घटकबाट अपेक्षाकृत सहयोग प्राप्त नगरेको गुनासो गर्दै आएको एकीकृत समाजवादीले भविष्यबारे आन्तरिक छलफल सुरु गरेको हो ।

तल्लो तहबाट आएको सुझावलाई प्रतिवेदनको रुप दिएर स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने एकीकृत समाजवादीले जनाएको छ । उपाध्यक्ष प्रमेश हमालले भने, ‘गठबन्धन भएका र नभएको नगरपालिका वा वडामा कस्तो प्रभाव पर्यो भनेर जानकारी माग गरेका छौं । त्यसपछि समग्र चुनावको समीक्षापछि अन्य विषयमा प्रवेश हुन्छ ।’
दलका नेताहरुका अनुसार असारभित्र चुनावको समीक्षापछि गठबन्धनसहितको विषयमा निर्णय हुने बताएका छन् । तल्लो कमिटीहरुबाट प्राप्त सूचनाहरुको आधारमा चुनावको परिणामको बारेको विश्लेषणसहितको प्रतिवेदन तयार पारेर स्थायी कमिटीको बैठकमा प्रस्तुत हुनेछ ।
प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी प्रदेश-१ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, वाग्मती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सूदुरपश्चिम प्रदेशमा बेदुराम भुसालले पाएका छन् ।














