काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा अर्को सुनुवाइ असार ५ गते हुने भएको छ ।

सोमबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेर असार ५ गते सुनुवाइको मिति तोकेको हो ।
आज भएको बहसमा रिट दायर पक्षबाट १ जनाले मात्रै बहस गरेका थिए । अब असार ५ गते पनि उक्त मुद्दा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालकै इजलासमा सुनुवाइ हुनेछ ।
हाल प्रहरी महानिरीक्षक रहेका धीरजप्रताप सिंहलाई एआईजीबाट आईजीमा बढुवा गर्ने निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले रिट दयार गरेका थिए ।
सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा अर्को पेसी सोमबारका लागि तोकिएको थियो ।











