Logo
Logo

एमालेले असार महिनाभर हेर्ने, त्यसपछि बाटो लिने


175.1k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको परिणामबाट हतोत्साहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिर हतोत्साह प्रकट नगर्ने, तर भित्रभित्रै विभिन्न रणनीति बनाउने काम भने गरिरहेका छन् ।

आगामी निर्वाचनमा कसरी जाने भन्ने विषयमा आफू निकटका नेताहरुसँग उनले भनेका छन्– ‘असार महिनाभर हेर्ने, त्यसपछि एउटा बाटो लिने ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेकका नेताहरुसँग संवादको पहल गर्ने तर चुनावी तालमेलका विषयमा अहिले चर्चा नगर्ने योजनाअनुसार आइतबार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग ओलीले भेटेका थिए ।

आफैँले पटक–पटक फोन गरी बोलाइएका नारायणकाजीसँगको भेटमा ओलीले निर्वाचनका विषयमा केही चर्चा गरेनन् । ओलीले निकटस्थ नेतासँग भनेका छन्– ‘हामीसँग तालमेल गर्दैनौँ भन्नेहरूसँग तालमेल गरौँ भनेर जाने कुरा भएन । तर, त्यहीँभित्र पनि तालमेलमा जाऔँ भन्ने पक्षका मान्छेहरू छन् । तिनीहरूसँग सम्बन्ध बढाएर तिनैमार्फत दबाब सिर्जना गराउनुपर्छ ।’

यस योजनाअनुसार एमालेको एउटा समूह एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग नियमित संवादमा छ । तर, खनालले वाम तालमेल वा एकताका आधारहरू स्पष्ट नभई केही कुरा गर्न नसकिने बताएका छन् ।

मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा पनि नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर एकीकृत समाजवादीलाई मतदातामा मात्रै सीमित राख्ने खतरालाई दृष्टिगत गर्दै सम्भव क्षेत्रमा एमाले र समाजवादीबीच तालमेल गर्न सकिने कोणबाट केही नेताहरूले छलफल गरिरहेका छन् । तर, समाजवादीका नेताहरूले यथास्थितिमा त्यस्तो सम्भावना नरहेको बताउँदै आएका छन् ।

ओलीले सत्ता गठबन्धनले स्थानीय निर्वाचनकै जस्तो आंशिक तालमेल गर्दा दोस्रो हैसियत सुरक्षित हुन्छ भन्ने कुरा निकटस्थसँग बताएका छन् । यदि, माओवादी र समाजवादीका दोस्रो तहका नेतामार्फत मूल नेतृत्वलाई दबाब दिने वातावरण बन्यो र कांग्रेससँग नमिलेका निर्वाचन क्षेत्रहरूमा उनीहरूसँग मिल्ने गरी जान सकियो भने एमालेले कांग्रेससँग ‘नेक टु नेक’ प्रतिस्पर्धा गर्ने विश्वास ओलीले लिएका छन् ।

त्यसका लागि माधव, झलनाथ, प्रचण्डसँग हैन, उनीहरूको पार्टीका वाम तालमेल पक्षधर नेताहरूसँग निकटता कायम गरेर अगाडि बढ्ने योजना बनाइएको छ । यद्यपि, एमाले नेतृत्वबाट ओलीको बहिर्गमन नहुँदासम्म ती पार्टीका कुनै पनि तहका नेता औपचारिक वा अनौपचारिक छलफल गर्ने पक्षमा छैनन् ।

‘सत्ता गठबन्धन कस्तो हुन्छ भन्ने कुरा असार महिनाभरि अध्ययन गरौँ, त्यसपछि बाँकी रणनीति बनाएर आगाडि जाऔँ भन्नुभएको छ’, ओलीसँग नियमित संवादमा रहेका एक नेताले दृष्टिसँग भने, ‘यसका लागि अहिले सबैसँग अरु विषयमा कुराकानी गरिरहने, तर तालमेल र एकताका कुरा पछि मात्रै गर्ने भन्नुभएको छ ।’

एक कदम पछाडि
आफुप्रति आलोचनात्मक शैलीमा पेश भएका नेता घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारीमा रहेका ओली उक्त कदमबाट पछाडि हटेका छन् । उनका निकटस्थ नेताहरूले नै त्यस्तो कदम प्रत्युत्पादक हुने सुझाव दिएका थिए ।

पहिला ओलीले भुसालसहितका अरु केही नेतामाथि कारबाही गरिहाल्ने योजना बनाएका थिए । तर, त्यसो गरिँदा पार्टीभित्रको आन्तरिक एकतामा समस्या आउने कारण कारबाहीका लागि हतार नगर्न नेताहरूले ओलीलाई सुझाव दिएका थिए ।

यसबीचमा कारबाही गरिने भनिएका नेता घनश्याम भुसालसँग महासचिव शंकर पोखरेलले कुरा गरेका छन् । पोखरेलले केही समय पार्टी नेतृत्वबारे सार्वजनिक टिप्पणी नगरिदिन आग्रह गरेका थिए ।

भुसालले ‘प्रयास गर्छु’ भन्ने जवाफ दिएको स्रोतले जनाएको छ । तर, घनश्यामले भोलि असार १ गते बुधबार एक सार्वजनिक कार्यक्रममा वाम एकता र आगामी निर्वाचन केन्द्रित मन्तव्य दिने कार्यक्रम तय भएको छ ।

भोलि प्रज्ञा भवन कमलादीमा आयोजना हुने ‘स्वतन्त्र वाम युवाहरूको भेला’ मा उनले समकालीन कम्युनिष्ट आन्दोलन, वाम एकता, सहकार्य र तालमेलजस्ता विषयमा मन्तव्य दिने कार्यक्रम तय भएको छ ।

ओलीले ‘भित्रका बाधा पन्छाएर अगाडि बढ्ने, मिल्ने जतिसँग मिलेर जाने’ नीतिअनुसार कारबाही गरिनुपर्ने केही नेताहरूको सूची बनाएका थिए । तर, शंकर पोखरेलसहितका नेताहरूले त्यसो गर्नुको सट्टा ती नेतालाई भूमिकाबिहीन राख्दै निर्वाचनसम्म जाँदा ठीक हुने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्