
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ ।
बजेट बनाउने क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेकाबारे प्रश्न उठ्दा पनि संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै एमालेले अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने दाबी गरेको हो ।
मंगलबार संसद बैठकको सुरुमै एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, ‘यति गम्भीर विषयमा प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्नको लागि सक्षम हुनुहुन्छ ? लायक हुनुहुन्छ ? यसको जवाफ संसदलाई चाहिन्छ ।’
उनले अगाडि भने, ‘करको विषय ज्यादै गोपनीय विषय हो, राष्ट्रिय सुरक्षा जस्तै विषय हो, राष्ट्रिय स्वार्थको विषय हो । यस्ता गोपनीयता बाहिर सार्वजनिक गर्ने, अझ गोपनियताहरुमा साँठगाँठ र मिलेमतो गर्ने जस्ता कुरा गम्भीर अपराध मानिन्छन् । त्यसबारेमा छानबिन हुनुपर्दछ ।
मन्त्रीले नैतिक हिसाबले त्यो जिम्मेवारीमा बस्न मिल्दैन भन्ने मलाई लाग्दछ ।’ यस विषयमा पाण्डेले प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराएका छन् ।











