काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र कार्यकारी समितिका अध्यक्ष उपेन्द्र यादवले एकले अर्कालाई कारबाहीको तयारी थालेका छन् ।

डा.भट्टराई केही दिनयता दैनिकजसो प्रधानमन्त्रीनिवास बालुवाटार पुग्न थालेका छन् । पार्टी विभाजनमा सहयोगको माग गरी उनी बालुवाटार जाने गरेको स्रोत बताउँछ । पार्टी विभाजनलाई सहज हुने गरी कानुनी व्यवस्था गरिदिनसमेत उनले आग्रह गरेको स्रोतको दाबी छ । सोमबार पनि उनी बालुवाटार पुगेर पार्टी विभाजनलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।
उनले उपेन्द्र यादवको सिफारिसमा मात्र मन्त्री हेरफेर नगर्नसमेत प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । तत्काल मन्त्रिमण्डल हेरफर गर्ने हो भने आफ्नो पार्टीबाट हिसिला यमी र सुशीला श्रेष्ठलाई मन्त्री बनाउन उनले प्रस्ताव गरेको स्रोत बताउँछ । सुशीला जसपा नेता अशोक राईकी श्रीमती हुन् । हिसिला बाबुरामकी पत्नी हुन् ।
हालको राजनीतिक दलसम्बन्धि ऐनअनुसार पार्टी विभाजनका कारण संसद र केन्द्रीय समितिमा ४० प्रतिशत चाहिने प्रावधान छ । तर, बाबुरामको पक्षमा ४० प्रतिशत निश्चित हुन सकेको छैन । त्यसकारण २० प्रतिशतको प्रावधानसहितको नयाँ कानून ल्याउन आग्रह गरेका हुन् । तर, संसदमा बजेट अधिवेशन चलिरहेको अवस्थामा संसद रोकेर अध्यादेश ल्याउने अवस्था पनि छैन ।
जसकारण बाबुराम थप समस्यामा परेका छन् । यद्यपि, भट्टराईले भने आफुसँग ४० प्रतिशत रहेको दाबी गरेका छन् । प्रधानमन्त्रीले सहयोग नगर्दा उपेन्द्र यादव पक्षले आफ्ना सांसद तथा नेता खोस्न सक्ने भएकाले सहयोग गरिदिन भट्टराईले देउवालाई आग्रह गरेका हुन् । उपेन्द्रसँग असन्तुष्ट रहेका पार्टीका नेताहरूलाई समेत फकाएर अघि बढ्ने भट्टराईको रणनीति छ । पछिल्लो समय अशोक राईलाई आफ्नो पक्षमा पार्न उनी सफल भएका छन् ।











