Logo
Logo

ग्लोबल आइएमई बैंक र बिओकेबीच मर्जर सम्झौता

५२ अर्ब कूल पुँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्दै


504
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एकापसमा गाभ्न गाभिनका लागि बिहीबार प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जरपश्चात् बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सम्पत्ति तथा दायित्वको मूल्यांकनबाट सिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोहीअनुसार समायोजन हुने गरी हाललाई एक बराबर एकको स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ । २१ वटा बैंक तथा वित्तीय संस्था गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा पाँचवटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

मर्जरपश्चात् बैंकको कूल पुँजी रु. ५२.२९ अर्ब, चुक्ता पूँजी रु. ३४.४१ अर्ब, कूल निक्षेप रु. ३८४ अर्ब, कूल कर्जा रु. ३८० अर्ब सहित कूल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ । दुवै बैंकले जेठ मसान्तसम्म ६ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् । दुई बैंकको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय, ३७ लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक हुने बताइएको छ ।

दुवै बैंकहरु एकापसमा गाभिएपश्चात संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याई ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने दुवै बैंकका सञ्चालक समिति अध्यक्षहरुले सयुंक्त रुपमा प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताएका छन् । ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधै पहिलो हुने गरेको बताउँदै तदअनुरुप यो मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए । उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ क्षेत्रमा आजको दिन सधै संस्मरणमा रहने बताए । उनले मर्ज हुनु प्राकृतिक प्रक्रिया हो तर मर्जरपछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको बताए । उनले नयाँ बैंकले नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गर्नेमा विश्वास प्रकट गरे ।

कार्यक्रममा दुवै बैंकका अध्यक्षले गाभ्ने ÷गाभिने कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष तवरले सहयोग पु¥याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंकका सञ्चालहरु, शेयरधनी, कर्मचारीवर्ग, सञ्चार क्षेत्रलगायत सम्बन्धित सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्