Logo
Logo

संसदमा सांसद खतिवडाले रुँदै भनिन्– छोरा जिउँदो ल्याइदिए अहिल्यै पद त्याग्छु


756
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा संसद बैठकमै रोएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै ‘छोराको लाससँग सांसद पद साटेको’ दुर्गा प्रसाईँको आरोप सम्झिँदै रोएकी हुन् ।

‘प्रधानमन्त्रीले बारम्बार आग्रह गरेर म यो पदमा आएकी थिएँ । अन्य तमाम जेनजीहरुको, सन्तानहरूको बलिदान खेर जान नदिन म यो सदनमा पुगेकी हुँ,’ उनले भनिन्, ‘यत्रो परिवर्तन आएपछि सरकारले बाटो बिराउँछ भनेर निरन्तर खबरदारी गर्नुपर्छ भनेर म यहाँ आएकी हुँ ।’

उनले आफ्नो यात्राको उद्देश्य शासकहरूले आफ्नो गलत बाटो समयमै सुधारुन् भन्ने मात्रै रहेको बताइन् । ‘जुन दिन जेनजी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउँछन्, त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुने छैन,’ उनले भनिन्, ‘तर विडम्बना, मेरो यो पवित्र उद्देश्य र छातीको घाउलाई कसैले छोराको लास माथि सांसद पद साटेकी भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा म स्तब्ध छु ।’

आफ्नो छातीको पीडामाथि राजनीतिक आक्रमण गरेको बताए । उनले थपिन्, ‘तपाईँहरूको छोराछोरी तपाईँहरूसँग छन्, उनीहरू हाँस्छन्, खेल्छन्, भविष्य देख्न पाउनुहुन्छ । तर मेरो संसार उजाडिएको छ । मेरो काख रित्तिएको छ । यो ठाउँमा उभिएर तपाईँहरू एक चोटि हेर्दिनुस् त । आज पनि कसैले मेरो छोरा जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु । त्यसैले आरोप लगाउनु अघि हजार पटक सोचिदिनुस् । एउटा आमाको ममता र पीडामाथि प्रहार गर्ने दुस्साहस नगरिइदिनुस् ।’

प्रतिक्रिया दिनुहोस्