Logo
Logo

भावी आइजीका लागि हेडक्वार्टरमै बास



काठमाडौं । नेपाल प्रहरीमा सामान्यतया प्रदेश प्रहरीको इन्चार्जमा जान मरिहत्ते हुन्छ । कतिपय त आर्थिक चलखेल गरेर समेत जाने गर्दछन् । तर, यतिबेला प्रहरीमा अनौठो दृश्य देखिएको छ । डिआइजी बढुवामा सिफारिस भएकाहरु आफुलाई प्रदेश नपठाउन आग्रह गर्दै हिडेका छन् ।

गत साता बढुवा सिफारिस भएका १७ जना डिआइजीको यही साता पदस्थापन हुँदैछ । पदस्थापनमा उनीहरु प्रहरी प्रधान कार्यालय नै बस्न चाहेका छन् । अग्रस्थानमा डिआइजीमा बढुवा सिफारिस भएका चार जना बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह तथा दीपक थापाले प्रदेशमा नजाने भनेर प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई जानकारी गराएको स्रोत बताउँछ ।

यसको मुख्य कारण काठमाडौंमै बसेर भावी आइजिपीका लागि चलखेल गर्न हो । अबको ८ महिनापछि यही ब्याचमध्येबाट आइजिपी चयन हुँदैछ । सोही कारण उनीहरु केन्द्रमै बस्न चाहेका छन् ।

८ महिनापछि आइजिपी चयन हुनेभएपनि केही महिनापछि नै एआइजीमा बढुवा हुने अवस्था छ । हालका एआइजीमध्ये केही छिट्टै अवकाश पाउँदैछन् । विश्वराज पोखरेल २० साउनमा अवकाश पाउनेछन् । मुकुन्द आचार्यले भदौमा अवकाश पाउनेछन् ।

त्यस्तै, कात्तिकमा रवीन्द्र धानुक र अरुण बिसीले अवकाश पाउनेछन् । यसरी रिक्त हुने पदमा बढुवा हुनका लागि उनीहरु प्रदेश नजाने भएका हुन् । तर, प्रदेश समेत नचाएको व्यक्तिले कसरी प्रहरी नेतृत्व सम्हाल्न सक्छ भन्ने प्रश्न पनि उठेको छ ।

हुन त रिक्त हुने पदमा मुख्य दाबेदार अन्य तीन सिनियर डिआइजी छन् । नलप्रसाद उपाध्याय, मसाउद आलम खाँ र मोहन आचार्य हाल प्रदेश इन्चार्जका रुपमा कार्यरत छन् । वरियताका आधारमा रिक्त हुने पदमा उनीहरु नै बढुवा हुनपर्ने हो । तर, नयाँ टोली बलियो भएकाले उनीहरुको सम्भावना कम छ ।

विगतमा केपी शर्मा ओली सरकारले विश्वराज पोखरेललाई भावी आइजिपीमा सुनिश्चित गर्न दरबन्दी नै थपेर अनियमित तरिकाले उनको मात्र बढुवा गरेको थियो । तैपनि पोखरेल नियुक्त हुन सकेनन् । अहिले त्यसरी एकल बढुवा हुने सम्भावना कम रहेको स्रोत बताउँछ । चारै पद रिक्त भएपछि मंसिरमा बढुवा हुनसक्ने सम्भावना छ ।

हाल चार प्रदेशमा डिआइजी पद रिक्त छ । प्रदेश नम्बर १, बागमती, गण्डकी र कर्णाली रिक्त छ । यसमा नयाँ डिआइजीहरु जानेछन् ।

त्यस्तै, डिआइजी बढुवासँगै एसएसपी प्रमुख हुने महत्वपूर्ण कार्यालय रिक्त भएका छन् । काठमाडौं उपत्यकाका अपराध अनुसन्धान कार्यालय, काठमाडौं परिसर, ट्राफिक महाशाखा, लागूऔषध नियन्त्रण ब्यूरो, विमानस्थल, मानव बेचबिखन अनुसन्धान ब्यूरा, भरतपुर तालिम केन्द्र लगायत छन् । यसमा बढुवामा छुटेका एसएसपीलाई पठाउने तयारी भइरहेको छ ।

जसमा विष्णु कुमार केसी, भरतकुमार बोहरा, कुबेर कडायत, केदार ढकाल, चन्द्रकुबेर खापुङ लगायत छन् । राजेश बाँस्तोलालाई विराटनगर तालिम केन्द्रमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्