Logo
Logo

योगमाया आयुर्वेद विश्वविद्यालयका लागि जग्गा खरिद प्रक्रिया


युवराज विष्ट

1k
Shares

भोजपुर । भोजपुरमा जन्मिनुभएकी क्रान्ति योद्धा योगमायाको नाममा बन्न लागेको योगमाया आयुर्वेद विश्व विद्यालयका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको छ ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ को ढुङ्गा बिसौनी र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रमा जग्गा खोजी भइरहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए । जग्गा खरिद गर्न केन्द्र सरकारबाट विनियोजन भएको रु सात करोड आइपुगेको उनले बताए ।

नगरप्रमुख उदासले भने, “योगमाया आयुर्वेद विश्व विद्यालय निर्माणको प्रक्रिया सुरु भएको छ । अहिले हामी विश्वविद्यालयले निर्माणका लागि आवश्यक पर्ने जग्गाको खोजीमा छौँ । खादबारी नगरपालिकामा पर्ने जग्गाको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।”

विश्वविद्यालयले निर्माणका लागि षडानन्द नगरपालिकामा २३३ रोपनी र खादबारी नगरपालिका ३७२ रोपनी जग्गा लिने मन्त्रिपरिषद्को निर्णयबमोजिम खोजी प्रक्रिया थालनी गरिएको नगरप्रमुख उदासले जानकारी दिए ।

योगमाया भोजपुरमा जन्मिएको भए पनि मन्त्रिपरिषद्को निर्णयमा भोजपुरमा भन्दा सङ्खुवासभामा बढी जग्गा खरिद गर्ने निर्णयले यस नगरपालिका असन्तुष्ट रहेको उनको भनाइ थियो । प्रमुख उदासले भने, “आवश्यक प्रक्रिया थालनी भयो तर जग्गा खरिद प्रक्रिया हाम्रा लागि न्यायोचित देखिँदैन ।”

योगमायाको जन्म भोजपुरमै भएको हो, तर जग्गा भने सङ्खुवासभामा बढी खरिद गर्ने भन्ने उल्लेख छ । हाम्रा तर्फबाट दुवै क्षेत्रमा जग्गा बराबरी हुनुपर्छ भन्ने मेरो माग छ । त्यस्तै बन्ने संरचना पनि भोजपुर क्षेत्रलाई प्राथमिकतामा राखेर बनाउनुपर्नेमा उनले जोड दिए ।

जग्गा खरिद गर्न रु सात करोड रकम सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयमा आएको छ भन्दै नगरप्रमुख उदासले हाम्रो क्षेत्रको जग्गा खरिदका लागि आएको रकम पनि सङ्खुवासभा जिल्ला प्रशासनमा छ । खासमा नगरपालिकाका यसअघिका जनप्रतिनिधिले समयमा मागपत्र पेश गर्न नसक्दा यस्तो भएको हो ।

त्यो बेला अलिकति प्राथमिकताका साथ काम गरिदिएको भए हाम्रो जिल्ला प्रशासन कार्यालयबाट नै खरिद रकम भुक्तानी गर्न सकिन्थ्यो । त्यो नहुँदा हाम्रो क्षेत्रको जग्गा खरिदको रकम पनि सङ्खुवासभाले भुक्तानी गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्