
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कारबाही गर्ने भएको छ ।
वीरगन्जमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले पेश गरेको कार्यसूचीमा छलफल गर्दै जसपाले संघीय परिषद अध्यक्ष भट्टराईलाई अनुशासनको कारबाही तयारी गरेको हो ।
बैठकमा अध्यक्ष यादवले १० वटा कार्यसूची पेश गरेका थिए । कार्यसूचीको ७ नम्बरमा ‘अनुशासनको कारबाही सम्बन्धमा’ शीर्षकको एजेण्डा रहेको छ । उक्त एजेण्डामार्फत बाबुरामलाई कारबाही गर्ने तयारी गरिएको एक नेताले बताए ।
अध्यक्ष यादव समूहले वीरगन्जमा कार्यकारिणी समितिको बैठक बोलाएपछि भट्टराई समूहले काठमाडौंमा केन्द्रीय समितिको विस्तारिक बैठक बोलाएको छ । दुबै बैठक मंगलबारबाट जारी छ ।
पार्टीको निर्णयविपरीत बैठक बोलाउँदै हिँडेको भन्दै जसपाले परिषद अध्यक्ष भट्टराईलाई कारबाही गर्न लागिएको हो, ति नेताले भने । तर, त्यो एजेण्डामा भोली मात्र छलफल हुन्छ ।














