Logo
Logo

आफैंलाई सच्याउँदै प्रधानमन्त्री, यी हुन् केही उदाहरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ११ साउन ।

१४ महिनादेखि अल्झिएको एकीकरण प्रक्रिया टुंग्याउन ओली सकारात्मक देखिए । ५ साउनको पछिल्लो सचिवालय बैठकले दुई सय ३५ नेताको कार्यविभाजन गर्‍यो । प्रचण्डसँग सहमतिमा वरिष्ठ नेता माधव नेपाललाई समेत विश्वासमा लिन ओली तयार बने ।

ओलीले मागे माफी  !

प्रधानमन्त्रीको शैली ‘बोलेपछि बोल्यो’ भन्ने खालको जिद्दीपूर्ण थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा २६ असारमा आयोजित कार्यक्रममा उनले भारतीय दूतावासको पत्रबारे आफूलाई जानकारी नगराइएको भन्दै सार्वजनिक रूपमा पहिलो पटक देश र जनतासँग माफी मागे ।

त्यसपछि उपनेता सुवास नेम्वाङले अन्तरवार्तामै भने, ‘उहाँले साँच्चीकै पहिलो पटक माफी माग्नुभएको हो, यो मेरा लागि पनि आश्चर्यको कुरा हो । अब तपाईहरू (प्रधानमन्त्रीको कार्यशैलीमा) परिवर्तन देख्नुहुन्छ ।’

शीर्ष नेतासँग संवाद

पूर्वएमाले नेताहरू माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमसँग ओलीको सम्बन्ध एकदमै चिसो हुँदै गएको थियो । पार्टीका बैठकमा बाहेक अनौपचारिक छलफल हुन छाडेका थिए । पछिल्लो समय प्रधानमन्त्रीले माधव नेपाल र वामदेव गौतमसँग छलफल बढाएका छन् ।

गुटमै पनि फराकिलो

असन्तुष्ट त परको कुरा, लामो समय ओलीनिकट रहेका थुप्रै नेताले पनि प्रधानमन्त्रीलाई भेट्न पाएका थिएनन् । खगराज अधिकारी, सुमन प्याकुरेललगायत नेता पनि प्रधानमन्त्रीको सचिवालयसँग रिसाएका थिए । तर, दुई सातायता उनीहरूसहित गुटका अरू नेता–कार्यकर्ताले पनि प्रधानमन्त्रीको पहुँच पाउन थालेका छन् ।

आलोचकलाई बोलाएरै भेट

सरकारको कार्यशैलीको कठोर आलोचना गर्दै आएका नारायणकाजी श्रेष्ठ, भीमबहादुर रावल, घनश्याम भुसाल, योगेश भट्टराईसहित दर्जनभन्दा बढी नेताहरूसँग ओलीले पार्टी एकता र सरकारको कामबारे परामर्श गर्दै सुझाब लिएका छन्, त्यो पनि आफै बोलाएर । भुसालसँग त उनले ६ वर्षपछि अनौपचारिक छलफल गरेका हुन्, त्यो पनि पूरै साढे दुई घण्टा ।

विधेयकअघि सरोकारवालासँग छलफल

एकपछि अर्का विधेयक विवादास्पद हुँदा र गुठी विधेयक त फिर्तै लिनुपर्दा हच्किएका प्रधानमन्त्रीले अब विधेयक ल्याउन हतार नगर्न आदेश दिएका छन् । अब सरोकारवालासँग पर्याप्त छलफलविना विधेयक नल्याउने सरकारको तयारी छ ।

सल्लाहकारको घेरा तोडेको सन्देश

सानो कोटरीले घेरिएको आरोप खेपिरहेका प्रधानमन्त्रीले पछिल्ला भेटघाटमा आफैँ सक्रियता लिएका छन् । सल्लाहकारहरूबाट नरुचाइएका नेता, कार्यकर्ताले पनि बालुवाटारमा सीधै प्रवेश पाएका छन् ।

मन्त्रीहरू र मुख्यसचिवलाई प्रष्ट सन्देश

२६ र २७ असारमा सम्पन्न सरकारको समीक्षा बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई प्रस्टै भने, ‘सबैलाई विश्वास गरिन्छ, तर हरेकको निगरानी हुन्छ ।’ भ्रष्टाचार गरे कसैलाई नजोगाउने चेतावनी समेत उनले दिए ।

प्रशासनिक नेतृत्वमा बोल्ड नदेखिएको भन्दै मन्त्री र सचिवकै सामु प्रधानमन्त्रीले मुख्यसचिवको पनि आलोचना गरे । ‘समन्वय, निर्देशन, सहजीकरण र नेतृत्वमा तपाईं प्रभावकारी हुनुभएन,’ २७ असारमा सम्पन्न सरकारको समीक्षा बैठकमा प्रधानमन्त्रीले मुख्य सचिवलाई भने ।

‘जनतासँग प्रधानमन्त्री’ बन्द

जनतालाई झन् उत्तेजित तुल्याएको भन्दै आलोचना बढेपछि ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम उनकै निर्देशनमा गत १ साउनबाट बन्द भएको छ ।

असन्तुष्टलाई मन्त्री बन्न अफर

सधैँ आफ्नो गुटलाई मात्रै च्याप्दै आएको आरोप लाग्ने प्रधानमन्त्री यस पटक मन्त्रिपरिषद् पुनर्गठनमा असन्तुष्टहरूलाई समेट्ने सोचमा छन् । उनले भीम रावल, घनश्याम भुसाल र योगेश भट्टराईलाई पनि बोलाएरै मन्त्रीको प्रस्ताव गरेका छन् ।

कटाक्षमा कमी र अभिव्यक्तिमा संयम

प्रधानमन्त्रीले बढी बोलेको र अनावश्यक विवाद निम्त्याएको भन्दै आलोचना हुने गरेको थियो । २० असारयता पार्टी बैठक र सरकारी कार्यक्रम बाहेक प्रधानमन्त्री अन्यत्र सहभागी छैनन् । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति कार्यक्रममा समेत उनी गएनन् । तीन सातायता देशले न उखान टुक्का सुनेको छ, न मिडिया, बुद्धिजीवी, आलोचक र प्रतिपक्षप्रति कटाक्ष ।

नेकपा नेता योगेश भट्टराई भन्छन्–

हामीले प्रधानमन्त्रीलाई औपचारिक, अनौपचारिक भेटघाटमा पार्टी र सरकारबीच, सचिवालय र सरकारबीच आवश्यक छलफल र समन्वय हुनुपर्छ भनेका छौँ । उहाँले पनि गम्भीरताका साथ सुन्नु भएको छ । मलाई विश्वास छ, प्रधानमन्त्रीले विगतका कमजोरी सच्याउँदै सरकारको काम प्रभावकारी बनाउन कदम चाल्नु हुनेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्याल भन्छन्–

अघिल्लो आर्थिक वर्षको समीक्षा बैठकबाट आएको निष्कर्षका आधारमा प्रधानमन्त्रीज्यू अगाडि बढ्ने प्रयासमा हुनुहुन्छ । उहाँले कामको गति बढाउन, भ्रष्टाचार नगर्न, ढिलासुस्ती अन्त्य गर्न, प्रशासनिक र राजनीतिक तहमा समन्वय बढाउन स्पष्ट निर्देशन दिनुभएको छ । त्यसअनुसार परिणामको पनि अपेक्षा गर्नुभएको छ । अब सरकारले कामको गति बढाउँछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्