
खोटाङ । खोटाङबाट काठमाडौं जाँदै गरेको सुमो र बोलेरो आपसमा ठाक्किएर दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
दिक्तेलबाट काठ्माडौं जाँदै गरेको ना १ ज ७४४१ नम्बरको सुमोलाई विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०१–०२५ च ०३६६ नम्बरको सिंगल क्याप बोलेरोले सिन्धुलीको सुनकोसी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा ठक्कर दिँदा १० घाइते भएका हुन् । घाइतेमध्ये ६ जना खोटाङका छन् ।
बोलेरोको ठक्करबाट सुमो चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका फडिन्द्र बिक, सुमोमा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका भक्तबहादुर बुढाथोकी, जीवन खत्री, सविन खत्री, प्रतिभा राई, बबिता राई घाइते भएको प्रहरीचौकी रातामाटा सिन्धुलीले जनाएको छ ।
यस्तै, ललितपुर महालक्ष्मी नगरपालिका–२३ का निरमायाँ मगर, भक्तबहादुर मगर र सिन्धुली तिनपाटन गाउँपालिका–९ का रञ्जना खुलाल घाइते भएका छन् । यस्तै, बोलेरो चालक धादिङको थाक्रे गाउँपालिका–३ का किरण मिजार पनि सामान्य घाइते भएका छन् । घाइतेहरुको धुलीखेल, बनेपा र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।














