काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पनि गठबन्धन कायम रहने बताएका छन् ।
बिहीबार ‘एमाले–माओवादी एकतादेखि विभाजनसम्म’ नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले गठबन्धनभित्रका दल एकतावद्ध भएर जान जरुरी भएको बताए ।

‘गठबन्धन कायम रहन्छ, गठबन्धन दलहरु मिलेर नै चुनावमा जाने छन्,’ नेपालले भने, ‘तर, हामी अर्को मोर्चा बनाउन पनि गइरहेका छौं । ‘थर्डपोल’ जसलाई भन्छ । तेस्रो शक्ति । त्यसमा एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा । यी चारवटा पार्टी पनि एक ठाउँमा गोलवद्ध हुनु जरुरी छ ।’
नेपाली कांग्रेसलाई हामी नै सबैथोक हो भन्ने परेको हुनसक्ने भन्दै त्यसका लागि पनि तेस्रो मोर्चा आवश्यक रहेको नेपालको भनाइ थियो । उनले भने, ‘नेपाली कांग्रेसलाई हामी नै सबै थोक हौं भन्ने परेको हुनसक्छ । यो सर्वेसर्वा मै हुँ भन्ने कुराले बिगारेको छ । त्यसकारण हामी पनि केही हौं भन्ने समय आएको छ। यस्तो अवस्थामा अझै अर्को चुनावी मोर्चा बनाउनुपर्ने, वाम शक्तिहरु मिल्नुपर्ने हुन्छ ।’














