
कुनै पनि राजनीतिक योगदान र पृष्ठभूमि नभएको व्यक्ति एकाएक हावाको भरमा शिखरमा पुग्यो भने त्यसले कस्तो हर्कत गर्छ भन्ने कुरा प्रधानमन्त्री बालेन साहको छ महिने व्यवहारले देखाएको छ । बालेन काठमाडौं महानगरको मेयर रहेकै बेलामा भएको नियोजित जेनजी विद्रोहपछि महानगरको जिम्मेवारी परित्याग गर्दै नाटकीय रुपमा रास्वपामा समाहित भएर प्रधानमन्त्रीको उम्मेदवार बनेका उनले प्रधानमन्त्रीका रुपमा ६ महिने कार्यकाल व्यतित गरिसकेका छन् ।
गत वर्ष भदौ २३ र २४ गतेको जेनजी विद्रोहको अघोषित रणनीतिकार र नेतृत्वकर्ता हुँदै त्यसकै बलमा भएको फागुन २१ को निर्वाचनमा रास्वपाले दुईतिहाइ मत ल्याएपछि मुलुकको प्रधानमन्त्रीको पदमा विराजमान भएका बालेनले विगतको सामाजिक सञ्जाल मोह अहिले पनि यथावत नै रहेको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री भएपछि एक्लिएको बिलौना गरेका प्रधानमन्त्री बालेन साहले त्यसअघि मेयर हुँदा रास्वपासहित नयाँ र पुराना दललाई चोरको संज्ञा दिँदै आफूबाहेक कसैलाई पनि देशको माया नभएको ठोकुवा गर्दै आएका थिए । अहिले फेरि रास्वपाबाटै प्रधानमन्त्री बनेकै बेलामा उनले खुलामञ्च आफूले बनाएकाले नयाँ दलले कार्यक्रम गरेर गाली गर्न पाएको भन्दै कांग्रेस महाधिवेशन लक्षित कटाक्ष गरेका छन् ।
उसोत, बालेनको उपस्थिति, उदय र अभिव्यक्ति विगतदेखि नै सामाजिक सञ्जालमार्फत प्रकट हुँदै आएकाले यो फेसबुके टिप्पणाीको आशय पनि निकै अर्थपूर्ण रहेको देखिन्छ । यसअघि पनि काठमाडौं महानगरको मेयरको उम्मेदवारदेखि चुनावी प्रचारसम्म त्यही सामाजिक सञ्जालमार्फत गर्दै आएका थिए । त्यसक्रममा राष्ट्रिय राजनीतिमा भर्खरै उदय भएको रास्वपा र अन्य पुराना दललाई चोरको संज्ञा दिएर उनले आफूलाई दल विरोधी पात्रका रुपमा चित्रण गर्दै आफूप्रति सहानुभूति बटुल्ने गर्दथे ।
उनी काठमाडौं महानगरको मेयर भएकै बखत रास्वपा लगायत अन्य विद्यमान दलले तत्कालीन अवस्थामा सुरु गरेको मिशन ८४ लक्षित चुनावी गतिविधिलाई कटाक्ष गर्दै उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘देश बन्छ, मिशन ८४ ले बन्दैन, तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।’
संयोग हो या नियोजित उनले घोषणा गरे जसरी नियमित चुनाव केन्द्रित रास्वपासहित अन्य दलहरुको तत्कालीन मिशन ८४ कार्यक्रमले मूर्तरुप लिन पाएन । बालेनकै अघोषित संलग्नता र पछि स्वामित्व नै लिएको अनि, अहिले समयक्रममा त्यसका अन्तरनिहीत रहस्य पटाक्षेप हुँदै गएको जेनजी विद्रोहले ८२ मै निर्वाचन हुन पुग्यो र त्यही निर्वाचनले बालेन अहिले प्रधानमन्त्रीको भूमिकामा रहेका छन् ।
अर्कोतिर, उनले त्यतिबेला रास्वपासहितका नयाँ र पुराना सबै दललाई चोरको संज्ञा दिएर कसैलाई पनि देशको माया नभएको सामाजिक सञ्जालमै अभिव्यक्ति दिए पनि अन्ततः समयक्रममा त्यही रास्वपामै समाहित भए । र, प्रधानमन्त्रीको उम्मेदवारका रुपमा गत फागुन २१ को निर्वाचनमा होमिँदै अहिले दुई तिहाइको प्रधानमन्त्री बनेका हुन् ।
उनका विगतका सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिलाई केलाउने हो भने आक्रामक टिप्पणी अनुरुप कतिपय घटनाक्रम परिणामसहित हेर्दा पूर्वनिर्धारित जस्तो देखिन्छ भने केही भने आफ्नै तत्कालीन अभिव्यक्ति विपरीतका कदम पनि उनले चालेका छन् । त्यसमध्येको एक हो– त्यतिबेलाको नयाँ दलका रुपमा रहेको रास्वपालाई चोरको संज्ञा र पछि त्यसमै आबद्ध भएर प्रधानमन्त्रीको उम्मेदवार हुँदै दुई तिहाइको प्रधानमन्त्री बनेको परिघटना ।
अहिले फेरि कांग्रेस महाधिवेशन सुरु भएकै दिन आफू काठमाडौं महानगर प्रमुख रहेको बेला आफैंले खुलामञ्च बनाएको श्रेय लिँदै त्यसकै कारण नयाँ दलले कार्यक्रम गरेर गाली गर्न पाएको आक्षेप लगाएका छन् । यो उनको निशाना कसप्रति केन्द्रित हो भन्ने प्रष्ट यकिन नगरे पनि उनको आक्रोश १५ औं महाधिवेशन खुलामञ्चमा गरिरहेको गगन थापा नेतृत्वको कांग्रेसप्रति नै लक्षित रहेको स्वतः स्पष्ट हुन्छ । शेरबहादुर देउवालाई विशेष महाधिवेशनबाट विस्थापित गरी नेतृत्वमा आएका गगनलाई प्रधानमन्त्री बालेनले नपत्याएर नयाँकै संज्ञा दिएको उनको स्टाटसबाट देखिन्छ । यसका अलावा उनले आफ्नै सभापति रवि लामिछानेलाई पनि कटाक्ष गरेको हुनसक्ने उनका विगतका अभिव्यक्ति र अहिलेका क्रियाकलापले आशंका पैदा गरेको छ ।
यद्यपि, लामिछानेले भने बालेन लक्षित अभिव्यक्ति कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा दिएका थिएनन् । बरु उनले सरकार नढल्ने र नढाल्ने प्रतिबद्धता दाहो¥याएका थिए । रविले भनेका थिए, ‘सरकार पाँच वर्ष ढल्दैन, सरकार ढल्छ भन्नेहरु नै ढल्छन् ।’
बालेनले लामो राजनीतिक इतिहास बोकेको कांग्रेसलाई किन नयाँ दल भने होलान् ? कि उनले गगन नेतृत्वको दललाई अझै पुरानो कांग्रेसकै रुपमा अस्वीकार गर्दै नयाँ दलका रुपमा चित्रण गरेका त होइनन् ? शेरबहादुर देउवालाई लत्याउँदै कांग्रेसमा पुस्तान्तरणको प्रयत्न गरेर नेतृत्वमा आएका गगन प्रति उनको यो व्यंग्य या असन्तुष्टि के होला रहस्यमय छ ?
अर्कोतर्फ, कांग्रेसको चारतारे झण्डा र रुख चुनाव चिन्ह फहराएर १५ औं महाधिवेशन गरेको कांग्रेसलाई नयाँ भन्ने हो भने दुईवटा निर्वाचन मात्रै सामना गरेको उनको दल रास्वपा चाहिँ कति पुरानो हो ? बालेनको यो अभिव्यक्तिको निशाना आफ्नै दल एवं पार्टी सभापति रवि लामिछानेप्रति पनि भएको हुनसक्ने उनका विगतका अभिव्यक्ति र स्वभावका अधारमा आँकलन गर्नु अन्यथा नहुने पछिल्ला विकसित घटनाक्रमले पनि संकेत गरेको छ ।
गगनको राजनीतिक इतिहासको मूल्यांकन गर्ने राजनीतिक धरातल बालेनसँग किमार्थ छैन । लामो राजनीतिक पृष्ठभूमिसहित नेपालको सबैभन्दा पुरानो दलको नेतृत्व लिएका गगन कसरी नयाँ भए ? यो बालेनको आफ्नै दल र सभापतिप्रतिको झटारो त होइन ? किनभने, बालेनले आफूलाई निर्दलीय प्रधानमन्त्री जसरी आफूलाई प्रस्तुत गर्दै संसदमा अनुपस्थितिसहित पार्टी र संसदीय दलको संस्थागत बैठकमा समेत अरुचि देखाउँदै आएका छन् ।
रास्वपाको वरिष्ठ नेता र संसदीय दलको नेता रहेका बालेनले महत्वपूर्ण केन्द्रीय समिति बैठकदेखि संसदीय दलको बैठकमा समेत निरन्तर अवज्ञा गर्दै आएका छन् । उनको यस प्रकारको स्वभावले प्रधानमन्त्री बालेन दलीय सीमाभन्दा बाहिर रहेको सन्देशमूलक आशय यस अघि पनि पटक पटक प्रकट हुँदै आइरहेको छ । यहीबीचमा नयाँ दल भनेर आएको उनको अमूर्त एवं लाक्षणिक टिप्पणीले आशंका गर्ने प्रशस्तै आधार खडा गरेको छ ।
उनले ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्ने अभिव्यक्ति हेर्दा सामान्य लागे पनि यो बालेनको विगतदेखिका स्वभावजन्य क्रियाकलापका आधारमा भने निकै अर्थपूर्ण सन्देश हो । यो कांग्रेस सभापति गगनप्रतिको कटाक्ष मात्रै नभएर विगतमा नयाँ र पुरानो दललाई एउटै कित्तामा राखेर चोरको संज्ञा दिने उनको पुरानै शैलीकै निरन्तरता पनि हो ।
आइतबार कांग्रेसको महाधिवेशन स्थलमा शुभकामना दिन सहभागी अन्य दल र नेता समेत उनी आफैं भन्दा कोही पनि नयाँ थिएनन् । त्यसैले उनले कसलाई के आधारमा नयाँको संज्ञा दिए ? यो निकै विचारणाीय छ ।
त्यहाँ रास्वपा भन्दा नयाँ दल अरु कुनै पनि सहभागी नरहेकाले पनि बालेनको असन्तुष्टि गगनसहित आफ्नै दल र त्यसको नेतृत्वकर्ता रवि लामिछानेप्रति नै लक्षित रहेको घटनाक्रमबाट समेत स्पष्ट हुन्छ । यसले आन्तरिक रुपमा रास्वपाभित्र रवि बालेनको टसलले पनि उत्कर्ष रुप लिँदै गरेको अवस्था समेत चित्रण गर्दछ भने रवि गगनबीच बढ्दै गएको सौहार्दतालाई पनि प्रतिबिम्बित गरेको छ । रास्वपामा प्रधानमन्त्री बालेनको कार्यशैलीलाई लिएर सभापति लामिछाने लामो समयदेखि असन्तुष्ट रहेको विषय यसअघि नै सार्वजनिक भइसकेको छ ।
अर्कोतिर, उनले खुलामञ्च आफैंले बनाएको दाबी गर्दै त्यसको श्रेय लिने प्रयत्न समेत त्यस फेसबुक स्टाटसमा गरेका छन् । उनी मेयर हुँदा सार्वजनिका कार्यक्रमका लागि केही समय बन्द रहेको खुलामञ्चलाई खुला गराउने विषयमा संघीय सरकारलाई दबाब दिँदै खुलाउन भूमिका अवश्य खेलेका थिए । तर त्यसको निर्माणमा भने बालेनले योगदान गरेका छैनन् ।
राजधानीको खुलामञ्चको ऐतिहासिक तथ्य हेर्ने हो भने यो कुनै निश्चित शासक वा व्यक्तिले बनाएको नभएर मल्लकालीन अवस्थादेखि विशाल खुला मैदानका रुपमा प्रचलनमा रहेको देखिन्छ । यसको आधुनिकीकरण २०२० को दशकमा राजा महेन्द्रको प्रत्यक्ष शसनकालीन अवस्थामा भएको छ । विशाल टुँडिखेललाई विभिन्न भागमा विभाजन गरी टुँडिखेलको उत्तरी भागलाई टुक्रयाएर राजनीतिक कार्यक्रमका लागि सार्वजनिक स्थलका रुपमा खुलामञ्च कायम गरिएको ऐतिहासिक तथ्यमा उल्लेख छ ।
बालेनले न त त्यसको निर्माण गरेका हुन्, न त त्यसको स्तरोन्नती । उनले केही समय बन्द गरिएको खुलामञ्च खुला गर्न उनको कार्यकालमा संघीय सरकारलाई दबाब दिने पहलबाहेक त्यसमा उनको अरु कुनै पनि भूमिका छैन ।
सामाजिक सञ्जालमार्फत अस्वाभाविक टिप्पणी गर्ने उनको विगतदेखिकै कार्यलाई अहिलेसम्म निरन्तरता दिएका छन् । गत वर्षको जेनजी विद्रोहमा समेत आफ्नो संलग्नता सामाजिक सञ्जालमार्फत नै जनाउने गरेका थिए । उनले मेयरकालमै सामाजिक सञ्जाल फेसबुक मार्फत सिंहदरबार जलाउने धम्की समेत दिएका उनले चौतर्फी आलोचनापछि त्यसलाई सामाजिक सञ्जालबाट हटाएका थिए । यो खुलामञ्चको प्रसंग पनि रातको उमंगमा रमाउने उनको पुरानै बानी जसरी लेखेका हुन् भने केही दिनको विवादपछि सामाजिक सञ्जालबाट हट्ला या विगतजस्तै भविष्यमा सही सावित होला त्यो भने अहिल्यै यकिन गर्नु हतारो हुन्छ । तर, विगतदेखिका उनका संदिग्ध क्रियाकलापले आशंकाजन्य अवस्था भने अवश्य सिर्जना गरेको छ ।
अझै, अहिले आएर तिनै प्रधानमन्त्री बालेन, रास्वपा सभापति रवि लामिछाने र जेनजी आन्दोलनका अगुवा वर्तमान गृहमन्त्री सुधन गुरुङ लगायतका नेताहरु प्रायोजित पात्र रहेको अमेरिकी सञ्चारमाध्यम ग्रेजोनले चित्रण गर्दै अमेरिकी जेनजी आन्दोलन अमेरिकी लगानीबाट सञ्चालित रहेको रिपोर्ट सार्वजनिक गरेपछि विगतका आशंकालाई थप बल पुग्नेगरी संशय बढाएको छ ।
गत वर्ष भदौ २३ र २४ गतेको जेनजी विद्रोहको अन्तरनिहीत पाटाहरुको रहस्य एकपछि अर्कोगरी पटाक्षेप हुँदै जानु र सरकारको अघोषित पक्षधरताले भूराजनीतिक संकट थप चुलिनुले पनि बालेन सरकारको छटपटी बुझ्न सकिन्छ ।
यहीबेला जेनजी अभियन्ताहरुले पनि तत्कालीन घटनाक्रमको बारेमा सत्यतथ्य ओकल्दै प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङले आफूहरुको आन्दोलन हाइज्याक गरेको आरोप लगाउन थालेका छन् । जेनजी आन्दोलनको आवरणमा मुलुकको धरोहर ध्वस्त बनाइएको गत वर्षको घटना नियोजित रहेको तथ्य अहिले सबैले उजागर गर्न थालिसकेका छन् । जेनजी विद्रोह अगावै सिंहदरबार जलाइएका प्रतिकात्मक तस्बिर सामाजिक सञ्जालमा भाइरल गराइएको भन्दै अहिले जेनजी अभियान्ताहरुले सार्वजनिक रुपमै अभिव्यक्ति दिएपछि ती घटनामा अहिलेका सत्तासीनहरुको भूमिका झनै शंकास्पद रहेको देखिएको छ ।
जेनजी विद्रोहको बारेमा छानबिन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर काकीले पनि त्यस घटनाको पूर्वजानकारी हालका गृहमन्त्री एवं तत्कालीन जेनजी अगुवा सुधन गुरुङलाई भएको सार्वजनिक रुपमै बताएका छन् । भदौ २३ गतेको घटनाको सत्यतथ्य निरुपण हुन नसक्दा त्यही जेनजी विद्रोहको बलमा सत्तारोहण गरेको बालेन सरकारप्रति एकपछि अर्को प्रश्न उठिरहेको छ । सरकारले त्यसको न्यायिक निरुपण गर्न गठित छानबिन आयोग र मानवअधिकार आयोगका प्रतिवेदन सार्वजनिक गर्ने हिम्मत समेत जुटाउन नसकेको बेला टुँडिखेलको प्रसंग ल्याएर नेपाली कांग्रेसजस्तो पुरानो दललाई नयाँ भनेर होच्याउनु उनको चेतनालाई विचरा भन्नबाहेक अर्को शब्द छैन ।













