Logo
Logo

एन्फा अध्यक्ष र महासचिवसहित चारजनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस


0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिफारिस गरेको छ।

The current image has no alternative text. The file name is: anfa.jpg

खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा गरिएको अनुसन्धान प्रतिवेदन बुधबार सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो। साथै अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए।

सीआईबीले उनीहरूबाट ६६ लाख ५३ हजार रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको छ। यसअघि गत २ असोजमा सीआईबीले एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो। उनीहरू पक्राउ परेपछि एन्फाका अध्यक्ष र महासचिव भने सम्पर्कविहीन छन्।

राष्ट्रिय हित र प्रतिष्ठाविपरीत ‘होम गेम’ बिक्री, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशन अवज्ञा, अवैध भत्ता वितरण, महिला साफ च्याम्पियनसिपमा होटल दररेटमा कमिसन र भ्रष्टाचार, बिनास्वीकृति आफूखुसी वैदेशिक भ्रमण, अनुदान रकमको दुरुपयोग तथा अनावश्यक नियुक्ति गरेको भन्दै एन्फाविरुद्ध उजुरी परेको थियो।

यस्तै, विभिन्न समयमा गरिएका टेन्डरहरू प्रचलित कानुनबमोजिम नगरेको, विभिन्न प्रतियोगिताहरूमा मार्केटिङ, डिजिटल, ब्रोडकास्टिङ र टिकटिङ अधिकार (राइट्स) दिँदा भ्रष्टाचार गरेको लगायतका व्यहोरा उल्लेख गरी एन्फाभित्र भइरहेको गम्भीर अनियमितता, भ्रष्टाचार र पदको दुरुपयोग सम्बन्धमा छानबिन गरी कारबाही गर्न माग गर्दै उजुरी परेपछि छानबिन सुरु भएको थियो।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)बाट २४ जुनयता एन्फा निलम्बनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्