Logo
Logo

निष्ठाका धरोहर प्रदीप गिरी


819
Shares

काठमाडौँ । विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेता प्रदीप गिरीको गृहजिल्ला सिरहा पुग्नुभएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गिरीको चुनावी सभामा भएंका थिए, ‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म शक्तिशाली मन्त्री बनाउँछु, पछि प्रधानमन्त्री नै बनाउँछु ।’

सोही मञ्चमा बसेका गिरी प्रधानमन्त्रीको यो घोषणापछि हासे भने उनका क्षेत्रका समर्थकले गड्गडाहट ताली बजाए । संयोग यस्तो भयो कि पछि उनले चुनाव हारे । आफ्ना स्पष्ट र प्रखर विचारसहित प्रायः सञ्चारमाध्यममा आइरहने नेता गिरीलाई पछि एक अन्तर्वार्ताका क्रममा प्रश्न सोधियो, ‘तपाइँले चुनाव जितेको भए त यतिखेर मन्त्री हुनुहुन्थ्यो होला हगि र’’ उनको प्रतिक्रिया थियो, ‘‘हो, हुन्थेँहोला । तर मलाई मन्त्री बन्नबाट भगवानले बचाएका छन्, त्यसैले म खुसी छु । किनभने मैले चुनाव जितेको भए किसुनजीको आग्रह टार्न सक्दिनथेँ होला, त्यसैले भगवानले चुनाव हराएर मन्त्री हुनबाट बचाए ।’

प्रदीप गिरी नेपालको समकालीन राजनीतिमा सादगी, चिन्तनशील र अध्ययनशील व्यक्तित्वका रुपमा स्थापित नाम हो । त्यसैले त चार/चार पटकसम्म सांसद बन्नुभएका गिरीमा मन्त्री बन्ने चाह कहिल्यै जागेन । उनले सार्वजनिक रुपमै भन्ने गर्थे, ‘मन्त्री हुँदा स्वतन्त्रता गुम्छ, मैले मनमौजी गर्न मिल्दैन, मेरो आफ्नो स्वतन्त्रता र आफ्नैपनको जीवन गुम्न पनि सक्छ । मन्त्री भएपछि मेरा सबै जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने हुन्छ, म फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न नपाउने स्थितिमा पनि पुग्न सक्छु, मप्रति जनताका आशा अपेक्षा बढी होलान्, त्यसैले मलाई व्यक्तिगत जीवनमा हस्तक्षेप मान्य छैन ।’

हाम्रो देशमा यतिखेरको राजनीति त्यस्तो छैन । मन्त्री बन्नुपर्ला भनेर भाग्नखोज्ने नेता सायदै कुनै पार्टीमा भेटिएलान् । अनि उनी जस्तो सांसद पदको पारिश्रमिक आएको दिन पुस्तक पसलमा गएर पुस्तक किन्न रुचाउने अध्ययन र चिन्तनमा समय व्यतित गर्ने नेता पनि विरलै छन् । त्यसैले उनले एक प्रखर चिन्तक मात्र होइन कि समाजवादी विचारका अगुवाको पहिचान निर्माण गर्न सफल भएका छन् ।

गिरीको जीवनशैली खुल्ला र उच्च विचारका धनीहरुका लागि पनि सरल र सादा जिउन सकिने अनुकरणीय उदाहरण हो । उहाँको पहिरनको पहिचान धेरै पछिसम्म पनि खद्दरको कुर्था र सुरुवाल थियो । स्वतन्त्रता र समानताका पक्षपाती उनको जन्मघर बाहेक अन्यत्र गाडी, घोडा या घरबङ्गला जोड्ने कुनै रहर रहेन । यहाँसम्म कि उनले कहाँ खान्थे, कहाँ सुत्थे भन्ने पनि कहिले त ठेगान नै हुँदैनथ्यो । आफ्नो पुख्र्यौली सम्पत्ति पनि उहाँले एक आश्रमका रुपमा दिइसकेका छन् ।

समाजशास्त्रको अध्ययन गरेका गिरीले सिद्धान्तमा भने माक्र्सवादी हौँ भन्नेहरुले भन्दा अब्बल माक्र्सवाद आत्मसात् गरे । लाग्छ, माक्र्सवादी चिन्तकहरुले पनि उहाँको विचार, व्यवहार र चिन्तनबाट धेरै सिक्न सक्छन् । उनी चाहे बनारसमा विपी कोइरालाको साथ र संगतसँगै तरुण पत्रिकाको सम्पादकका रुपमा होस् या उनलाई क्यान्सरले गालिरहँदा नैै किन नहोस्, बाल्यकालदेखि वृद्धसम्म नै प्राज्ञिक चिन्तनमा रमाए ।

त्यसैले उनले प्राज्ञिकदेखि श्रमिकसम्म सबै क्षेत्र र वर्गका जनताका मन मस्तिष्कमा बस्न सके । मन्त्री या पदमा पुगेका र पदमा पुगेर ठूलो धनराशि आर्जन गरेकालाई मात्र राजनीतिक सफलता नमान्ने हो भने प्रदीप गिरी नेपालका एक सफल राजनीतिज्ञको नाम हो । किनभने उनको राजनीतिक चिन्तन र व्यवहार सबै क्षेत्र र वर्गका नेपालीसामु लोकप्रिय छ र यसको आयतन कुनै निश्चित विचारधाराको घेराभन्दा निकै फराकिलो छ ।

त्यसैले त उनको स्वास्थ्यलाभको कामनादेखि आज उनको निधनसम्म आइपुग्दा सामाजिक सञ्जाल होस कि समाजका विभिन्न पेशा, व्यवसाय या विचारधाराभन्दा बाहिर निस्किएर सारा नेपालीले उनीप्रति श्रद्धा व्यक्त गरिरहेका छन् ।

देशमा अहिले अन्य राजनीतिक दर्शन अवलम्बन गर्नेहरूको पनि उहाँप्रति उत्तिकै सम्मान देखिन्छ । त्यसैले प्रदीप गिरी नाम यतिखेर नेपाली राजनीतिको एक विशेष र विशिष्ट स्वरुपको मानकका रुपमा स्थापित हुन पुगेको छ । सधैँ युवा र यही वर्गप्रति भरोसा राख्ने उहाँको विचारलाई अहिलेको हर दलको युवा पिँढीले पछ्याउन सक्यो भने यही हतियारले हिजोआजकोजस्तो राजनीतिलाई प्रदीप गिरीको वैचारिक उचाइसम्म पु¥याउन सक्छ ।

उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । बनारसमा छात्र संघमा चुनाव लड्दादेखि नै बीपीको संगत बताएको उनले विपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अडिग रही राजनीतिक सङ्घर्ष जारी राख्ने क्रममा पटक पटक गरेर करिब चार वर्ष जेल जीवन बिताए ।

विसं २०४२ पछि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको नजिक भएर काम गरेका उनी कांग्रेसमा समावेशीकरणका पक्षधर थिए । उनले नै कांग्रेस पार्टीले ‘जमदम’ को नीति लिनुपर्ने भनी प्रस्तुत गरेका थिए । उनी कार्यक्रमलाई ज– जनजाति, म– महिला, द– दलित र म– मधेसी भनी अथ्र्याउथ्यो ।

प्रतिक्रिया दिनुहोस्