Logo
Logo

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द


1k
Shares

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–३ बाटाका चौरस्थित सारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन् । बिहीबार पाँच र शुक्रबार दुई छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिए ।

टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने गरेको पौडेलको भनाइ छ । बेहोस हुनेमा कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने छात्रा रहेको पौडेलले बताए ।

गत जेठमा पनि विद्यालयका दुई विद्यार्थीमा यही प्रकारको बिरामी भएको र त्यसयता यो खालको समस्या नआएको प्रधानाध्यापक पौडेल बताउछन् । ‘गत जेठमा पनि विद्यालयमा दुई विद्यार्थीमा यो समस्या देखिएको थियो, त्यसपछि यस्तो समस्या आएको थिएन’, प्रअ पौडेलले भने, ‘अहिले फेरि समस्या देखियो ।’

सात विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि अन्य विद्यार्थी त्रसित बनेका छन् । धेरै विद्यार्थीमा यसखालको समस्या आउन नदिनका लागि विद्यालय बन्द गर्नुपर्ने स्थानीयको भनाइ छ । उनीहरूले बिहीबारनै विद्यालय बन्द गरेको भए अरु विद्यार्थीमा समस्या नदेखिने बताउँछन् ।

बिहिबार एकै दिन पाँच छात्रा बेहोस भएर ढलेपछि विद्यालयले अभिभावकलाई बोलाएर जिम्मा लगाएको प्रअ पौडेलले बताउछन् । ‘हिजो पढाउँदै गर्दै पाँच विद्यार्थी बेहोस भए, आज पनि दुई विद्यार्थीमा यो समस्या देखिएपछि हामीले अभिभावक बोलाएर जिम्मा लगायौँ, यहाँबाट दुई शिक्षिकासहित उनीहरू स्वास्थ्यचौकी पठाका छौँ’, उनले भने, ‘यो विषयलाई गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई पनि जानकारी गराएका छौँ ।’

बिहीबार बिरामी परेका छात्राको स्वास्थ्य अवस्थामा अहिलेसम्म पनि सुधार आउन नसकेको शिक्षिका सरिता पौडेलले बताए । अध्ययन गर्न विद्यालय गएका बालिका एक्कासी बिरामी हुन थालेपछि अभिभावकमा पनि त्रास छाएको छ ।

विद्यालयमा विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेर तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालय १४ गतेदेखि सञ्चालन गर्ने विद्यालयले जनाएको छ । तीन दिनपछि पनि अरु विद्यार्थीमा समस्या देखिए स्वास्थ्यकर्मीसँग परामर्श लिएर अगाडि बढ्ने प्रअ पौडेल बताउछन् ।

‘दिनदिनै विद्यार्थी बिरामी पर्ने थाले, तिज पनि नजिकिएको छ, त्यसले गर्दा १४ गतेसम्मका लागि विद्यालय बन्द गर्ने व्यवस्थापन समितिसँगको बैठकलले निर्णय गरेको छ’, उनले भने, ‘१४ गते विद्यालय खोल्ने निर्णय भएको छ, त्यस बेलासम्म पनि अरु विद्यार्थीमा यही समस्या देखियो भने स्वास्थ्यकर्मीसँग पराशर्म लिएर थप निर्णय गर्ने छौँ ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000