काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भोजपुरबाटै चुनाव लड्ने घोषणा गरेका छन् । नेकपा एकीकृत समाजवादीले सुनसरी १ धरानबाट उम्मेदवार सिफारिस गरेपछि मुख्यमन्त्री राईले ४ बुँदे प्रष्टीकरण लेख्दै कसैलाई पनि भ्रममा नपर्न आग्रह गरे ।

उम्मेदवार सिफारिस नितान्त पार्टीको मूल्यांकन चाहनाको आधारमा भएकाले भन्दै उनले यसमा आफ्नो कुनै संकेत र माग नभएको बताए ।
राईले भोजपुर आफ्नो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला भएकाले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने कत्तिपनि सोच नभएको प्रष्ट्याएका छन् ।
२०७४ को चुनावमा राई भोजपुर प्रदेश ‘क’ मा एमालेबाट विजयी भएका थिए ।
उनले लेखेका छन्, ‘भोजपुर मेरो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला हो, भोजपुरप्रति मेरो अगाध माया छ, भोजपुरे जनताले मलाई माया र विश्वास गरिराख्नु भएको छ, त्यसैले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने मेरो ०.१ प्रतिशत पनि चाहना/सोच छैन । भोजपुरे जनताले माया र विश्वास गरेसम्म म सांसद/मन्त्री केही नभई भुइँमा बसेर नि भोजपुरे र भोजपुरे जनताको सेवा गर्न चाहन्छु ! त्यसैले सांसद/मन्त्री बन्न अन्त जाने मेरो कुनै सोच/चाहना छैन ।’











