Logo
Logo

एक दिनका लागि हजारौँ गीत


एमपी सुब्बा


एमपी सुब्बा

‘तीजको आयो लहर

आउ नाचौँ संगी हो जीन्दगी के छ र’

फेसनजस्तै गीतसंगीतमा पनि ‘ट्रेण्ड फलोअप’ हुँदै गएको छ । अरु होइन, सिजनल भनिने तीजका गीतसंगीतमा ‘ट्रेण्ड’ चलेको छ । जुन त्यो एक दिनका लागि हो ।

फेसनलाई झैँ गीतसंगीतलाई ‘विश्व भाषा’ (सबैले बुझ्ने) बनाउने पनि ‘ट्रेण्ड’ नै हो । जुन ‘टे«ण्ड’ नेपाली नारीहरुको धार्मिक आस्था बोकेको पर्व हरितालिका तीजबारे गीतसंगीतमा चलेको छ । उक्त ट्रेण्डले यहाँ केसम्म गरेको छभन्दा पनि केचाहिँ भएको छैन ? भन्ने प्रश्न उब्जाएको छ ।

तर, पछिल्लो समय तीज गीतमा यस्तो ट्रेण्ड आयो कि ‘गीत नल्याए गायक/गायिका नै भइँदैन ।’ अर्को एकथरीमा यस्तो फेसन आयो, ‘अरुबेला नभएपनि तीजमा एउटा गीत गाएर चर्चामा आउँ ।’ यस्तै ट्रेण्डले गायिका सुनिता दुलाललाई ‘तीज क्विन’ समेत बनायो । हरेक तीजमा सुनिताले तीज गीत ल्याउँदै आएकी छन् । तर, उनी अरु गीतहरु गाउन खाशै रुचाउँदिनन् ।

माथि उल्लेखित गीत अहिलेकी चर्चित गायिका अञ्जु पन्तले हालै गाएकी हुन् । पाश्र्वगायनकी यी चर्चित गायिकाले करिब ५ वर्षयता तीज गीत गाएकी थिइनन् । दुई दशकभन्दा लामो आफ्नो सांगीतिक यात्रामा हजारौं गीत गाइसकेकी अञ्जुले कमैमात्र तीजमा गाएकी छन् । जुन गन्दा औँलामै अँठाउछ । क्रिष्टियन धर्म अँगालेपछि हिन्दुधर्मालम्बी नारीको पर्व मानिने तीजका लागि गाउने कुरै भएन । दुई वर्षअघि तीज गीतका लागि अफर आउँदा गाउन ‘अस्वीकार’ गरेपछि उनी विवादितसमेत बनेकी थिइन् । तर, यसपाली अञ्जुले ‘तीजको आयो लहर’ गाएकी छन् । यही नै ट्रेण्ड हो किनकि, पछिल्लो वर्षहरुमा तीज गीतले फेसनको रुप लिएको छ । त्यसमा गायिका अञ्जु पन्त पनि अछुतो रहन सकिनन् र, गाइन्, ‘तीजको आयो लहर…।

गायिका अञ्जुले गाएजस्तै महिना दिनयता गीतसंगीतको क्षेत्रमा तीजको लहर छपक्कै छाएको छ । तर, तीज आउनचाहिँ अझै तीन साताभन्दा बढी छ । पहिले–पहिले तीजकै दिनमात्र सम्बन्धीत गीत गुञ्जिन्थ्यो । त्यो पनि एउटै गीत ‘तीजको रहर आयो बरि लै’ ।

उक्त गीतमै नेपाली दिदी–बिहिनी मज्जाले रमाउथे । तर, विस्तारै तीज गीत अन्य कलाकारले गाउन थाले । तर, पाँच वर्षअघिसम्म अहिलेजस्तो ‘ट्रेण्ड’ नै चाहिँ थिएन । मानौँ, त्यो बेलासम्म ‘चर्चित गायिकाले मात्र तीज गीत गाउने’ भन्ने संस्कार थियो । त्योबेला सिर्जना थापा मगर, विमाकुमारी दुराहरु जस्ता केही कलाकारले फाट्टफुट्ट तीज गीत गाउँथे । तर, तीजका दिन उही ‘तीजको रहर आयो बरि लै’ गुञ्जिन्थ्यो । हिजोआज विमाकुमारी दुराजस्ता लोकसंगीतका हस्तीहरुले तीज गीतमा खाशै चासो दिएका छैनन् । कारण त्यही हो, यहाँ अरु जति नै गाएपनि गुञ्जिने भनेको त्यही पुरानै हो ।

तर, पछिल्लो समय तीज गीतमा यस्तो ट्रेण्ड आयो कि ‘गीत नल्याए गायक/गायिका नै भइँदैन ।’ अर्को एकथरीमा यस्तो फेसन आयो, ‘अरुबेला नभएपनि तीजमा एउटा गीत गाएर चर्चामा आउँ ।’ यस्तै ट्रेण्डले गायिका सुनिता दुलाललाई ‘तीज क्विन’ समेत बनायो । हरेक तीजमा सुनिताले तीज गीत ल्याउँदै आएकी छन् । तर, उनी अरु गीतहरु गाउन खाशै रुचाउँदिनन् ।

तीज गीतबाटै सेलिब्रेटी बनेकी सुनिता एक श्रेय हुन्, जसले तीज गीतमा ‘ट्रेण्ड’ भित्राइन् । उनले यसपालीको तीजका लागि ‘चुरा टिका लाली’ बोलको गीत ल्याएकी छन् । तर, उक्त गीतले खाशै चर्चा पाएको छैन । आफ्नो तीज गीतले चर्चा पाओस् वा नपाओस्, त्यसमा उनलाई आवश्यकता पनि छैन किनकि, आखिर उनी ‘तीज क्वीन’ नै हुन् । सुनिताको तीज क्रेजले लोभिनेहरु यति भए, जसले यहाँ सयौँ गीत जन्माइरहेको छ ।

‘तीज क्वीन’ र ‘तीज किङ’ बन्न मरिहत्ते गर्नेहरुको ‘ट्रेण्ड’ यतिसम्म अचाक्ली छ कि, यो वर्ष तीजका लागि कति गीत रिलिज भए ? अनुमानित उत्तर सुन्दा जो–कोही आचाश्र्य हुन्छ । हुन त अहिलेसम्म गीतसंगीतको नियमन गर्ने आधिकारिक निकाय छैन । त्यसैले गीतसंगीतसम्बन्धी अवार्ड गर्ने र म्युजिक अपडेट गर्ने अनलाइनकै आधारलाई अनुमानित रुपमा लिनुपर्ने हुन्छ ।

यो वर्ष कति आए तीज गीत ?

यो वर्ष कति तीज गीत रिलिज भए होला ? जवाफमा म्युजिक खबर डटकमका प्रधानसम्पादक तथा म्युजिक खबर अवार्डका अध्यक्ष सुमन बैरागीले भन्छन्, ‘पाँच हजार पुग्यो होला ।’ यो अनुमानित संख्या सोमबार १२ बजेसम्मको हो । अहिले हरेक दिन १० देखि १५ वटासम्म तीज गीत यु–ट्युबमा अपलोड भइरहेका छन् । कतिपय कलाकारले आफ्नै यु–ट्युब च्यानल बनाएर पनि अपलोड गरिरहेका छन् । त्यसको लेखाजोखा छैन । म्युजिक नेपाल, हाइलाइट्स नेपाल, सङ्स नेपाल, बुढासुब्बा जस्ता संगीतलाई व्यवसायी बनाउँदै आएका यु–ट्युब च्यानलमा अपलोड गरिएका र भइरहेका तीज गीतको अनुमानमात्र हो, पाँच हजार ।

अझै संख्या बढ्न सक्छ किनकि, तीज आउन अझै तीन साता पुरै छ । अब कति तीजका गीत आउने अनुमान गर्न सकिन्छ ? अध्यक्ष बैरागीले भने, ‘राम्रो र स्तरिय गीत अब नै आउने हो । तीजको अघिल्लो दिनसम्म गीत रिलिज हुन्छन् । अहिले रिलिज भइरहेको तथ्यांकलाई आधार मान्ने हो भने अझै आउला दुई हजार जति ।’ यी अनुमान गरिएअनुसार यो वर्षको तीजमा करिब ७ हजार तीज गीत बजारमा आउँदैछ ।

कसले सुन्ने यी गीत ?

गायक÷गायिकाले हरेक वर्ष तीजमा गीत निकाल्छन् । तर, तीजका दिन उनीहरु आफ्नो गीत सुन्दैनन् । तीज कार्यक्रमहरुमा उही पुरानै तीज गीतमा कम्मर मर्काउँछन् । ‘तीजको रहर आयो बरि लै’ गीतमै नाच्ने र रमाउने हो भने अरु तीज गीतमा कसले नाच्ने हो त ? यसपटक तीजका लागि ‘हर हर महादेव’ बोलको गीत ल्याएकी गायिका सहिमा भन्छिन्, ‘आफ्नो गीत स्टेज कार्यक्रम गाउनलाई हो, नाच्न त जुनै गीतमा नाचेपनि भइहाल्छ नि ।’

स्टेजमा आफ्नो गीत गाउने अनि स्टेजबाट झरेर ‘तीजको रहर आयो बरि लै’मै रमाउने सबै कलाकारमा देखिन्छ, जसले हरेक वर्ष तीज गीत गाउँदै आएका छन् । उनीहरुले गाएका तीज मात्र एक दिनका लागि हो । एक दिनका लागि किन गाउनु हरेक वर्ष तीजलाई भनेर ? ‘यु–ट्युब च्यानलका लागि’ एक गायिकाले भनिन्, ‘यु–ट्युबमा अरुबेला सुन्दा र हेर्दा पनि हुन्छ ।’

तीज गीतको लहर आउनुको एउटा कारण यु–ट्युब च्यानल पनि हो । तर, यु–ट्युबबाट चर्चा बटुल्ने सोचले पछिल्लो समय वर्षेनी तीज गीतमा करोडौं खर्च भइरहेको छ । तर, न ती कलाकार चर्चामा आएका छन्, न त तिनले यु–ट्युबबाटै लगानी उठाउन सकेका छन् । आफ्नै तीजका गीत नसुन्ने कलाकारको गीत अरु कसले सुनिदिएला त ? तीजको बेला सर्वसाधारणले सुन्ने र नाच्ने भनेको त्यही पुरानो ‘तीजको रहर आयो बरि लै’ नै हो । त्यसैले हरेक वर्ष तीजका लागि भनेर गाइएका सयौँ गीतहरु ‘टोकरीमा मिल्काइएका खोस्टा’जस्तै हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्