
हेटाैंडा । बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले तीजले चेली-माइती बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताएका छन् ।
हरितालिका तीजका अवसरमा मंगलबार शुभकामना विज्ञप्ति जारी गर्दै शर्माले चेली-माइती बीचको सम्बन्ध बनाउन यो पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफ्नो विश्वास व्यक्त गरे । सो अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदिबहिनीमा सुख, शान्ति, समृद्दि एवं अटल सौभाग्यका लागि शुभकामना दिएका छन् ।
प्रमुख शर्माले नेपाल विभिन्न भाषा, धर्म, संस्कृति, संस्कारले भरिपूर्ण भएकाकाले तीजको पनि आफ्नै महत्व रहेको बताए । तीजमा देखिन थालेको विकृत पक्षलाई भने त्याग्नुपर्ने शर्माको सुझाव छ ।
‘तीज मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलो शैली, देखासिकीजस्ता विकृत पक्षलाई पूर्णरुपमा त्याग्नु आवश्यक छ,’ उनले भने, ‘यसो गरेमा सांस्कृतिक तथा धार्मिक महत्वको संरक्षण हुन गई तीजको मौलिकता पनि कायम राख्न सघाउ पुग्दछ ।’
तीजले महिलालाई सशक्त तथा क्रियाशील बनाउन र सामाजिक विभेदको अन्त्य गर्दै समतामूलक एवं सभ्य समाज निर्माणका लागि प्रेरणा मिलोस् भन्नेसमेत शुभकामना दिएका छन् ।











