काठमाडौँ । नेकपा एमाले छाडेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन् । एमालेबाट टिकट लिएर अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएका उनले आइतबार एक वक्तव्य जारी गर्दै ८ जिल्लाको संयोजक तोकेको जानकारी दिएका छन् ।

साहले दलीय प्रणाली र दलका नेताहरुको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फँस्दै गएको भन्दै समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन अभियान सञ्चालन गरेका हुन् ।
अभियानको जिल्ला संयोजकका रुपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह ’अमर’, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा बसन्त मण्डललाई जिम्मेवारी तोकिएको छ ।
साहले एमालेले जसपासँग गठबन्धन गरेपछि त्यसको विरोध गर्दै एमाले छाडेका हुन् । उनले मधेशका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार खडा गरेका थिए ।












