एजेन्सी । आइसिसी टि-२० विश्वकपमा भारतले बंगलादेशमाथि रोमान्चक जित निकालेको छ ।
बुधबार भएको खेलमा जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनायो ।

बंगलादेशका ओपनर लिटन दासले २७ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । बंगलादेशलाई अन्तिम ओभरमा जितको लागि २० रन चाहिँएको थियो । तर अर्धशदीप सिंहले १४ रन खर्चिँदै जित पक्का गराए ।
नुरुल हसन १४ बलमा २ चौका र १ छक्कासहित २५ रनमा अविजित रहे । तस्किन अहमद ७ बलमा १ चौका र १ छक्कासहित १२ रनमा अविजित रहे । सकिब अल हसन १३, अफिफ हुसैन र मोसाद्देक ६ रनमा आउट भए ।
भारतका हार्दिक पान्ड्या र अर्शदीप सिंहले दुई–दुई विकेट लिए । मोहम्मद शामीले एक विकेट लिए ।
त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । भारतका विराट कोहलीले ४४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहे ।
लोकेश राहुलले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए । कप्तान रोहित शर्मा ८ बल खेल्दै २ रनमा आउट भए । सूर्यकुमार यादव १६ बलमा ४ चौकासहित ३० रनमा आउट भए । हार्दिक पान्ड्या ५, दीनेश कार्तिक र अक्षर पटेलले ७–७ रन बनाए ।
यो जितपछि भारतको ६ अंक भएको छ । जितसँगै भारत समूहको शीर्ष स्थानमा उक्लेको छ । बंगलादेश भने ४ अंकसहित तेस्रो स्थानमा कायम छ ।
भारतको अन्तिम खेल जिम्बावेविरुद्ध रहेको छ भने बंगलादेशले पाकिस्तानको सामना गर्नेछ ।












