काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा दर्शक बढाउने हेतुसहित आकर्षक पुरस्कार घोषणा गरेको छ । एन्फाले खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको हो ।

एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै मैत्रीपूर्ण खेलको तयारी पूरा भएको जानकारी दियो । पत्रकार सम्मेलनमार्फत एन्फाले एक भाग्यशाली दर्शकलाई कतारमा आयोजना हुने विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट दिने बताएको हो ।
यस टिकट प्राप्त गर्न भिभिआईपीतर्फको ५ हजार रुपैयाँको टिकट किन्नु पर्नेछ । यसका लागि एन्फाले ८० सिट छुट्याएको छ । खेल दशरथ रंगशालामा ३० कात्तिकमा साझ ५ बजे सुरु हुनेछ । यसैगरी एन्फाले साधारण प्यारापिटतर्फ पाँच सय रुपैयाँ र भीआइपी एक हजार रुपैयाँ टिकट दर निर्धारण गरेको छ ।












