Logo
Logo

चेलिबेटी बेचबिखनमा महिलाहरु नै संलग्न


वीरेन्द्र रावल/धनगढी


वीरेन्द्र रावल/धनगढी

खुला सीमानाकाको फाइदा उठाउँदै मानव तस्करहरुले चेलिबेटी बेचबिखन तथा मानव तस्करी गर्ने गरेको पाइएको छ । सबैभन्दा बढी चेलीबेटीहरुको ओसारपसार धनगढी नाकाबाट हुने गरेको पनि तथ्यांकले जनाएको छ ।

चेलिवेटी बेचबिखन तथा ओसारपसारमा बढीजसो महिलाहरु नै संलग्न रहेको कुरा बताउँछन् माइती धनगढीका संयोजक शिरुचरण चौधरी । संयोजक चौधरी भन्छिन्– दलालको प्रयोगमा केही दलाल महिलाहरुले पनि आफन्त र नातागोताकै महिलाहरुलाई जोखिममा पार्ने गरेका छन् । बेरोजगारी, गरीबी, अशिक्षा, छोटो समयमा धेरै धन कमाउने सपनाले अरुको लहलहैमा महिलाहरु लाग्ने गरेका कारण महिलाहरुले आफ्नो जीवनलाई नर्कमा पु¥याउने गरेको चौधरीले दृष्टिलाई बताइन् । उनले भनिन्– बेचबिखनमा महिलाहरु र बालबालिकाहरु बढी प्रभावित हुने गरेका छन् ।

नेपाली चेलीहरु भारतको कोठीमै पुग्ने गरी हुने गरेकोमा अहिले बेचबिखनको स्वरुप परिवर्तन भई बैदेशिक रोजगारीको नाममा धेरै चेलिबेटीहरु आफन्तबाटै जोखिममा पर्ने गरेको उनले बताइन् ।

पछिल्लो समय समाजिक सञ्जालमा चिनजान भई प्रेममा परेका बालिका तथा युवतीहरुलाई विभिन्न प्रलोभनमा पारी भारतलगायत तेस्रो मुलुक लैजाने गरेका घटनाहरु समेत बढ्न थालेको छ । कैलालीको धनगढीको गौरीफन्टा नाकाबाट भारतको दिल्ली नजिक पर्ने भएकाले धेरै दलालहरुले यही नाकाको प्रयोग गर्ने गरेको माइती नेपाल धनगढीका संयोजक शिवचरण चौधरीले बताइन् ।

विभिन्न प्रलोभनमा धेरैजसो महिला नेपालको पूर्वी जिल्लाहरुबाट त्रिनगर नाकामा पुग्ने गरेको र परामर्श तथा जाँचबुझ गरी धेरैलाई आफन्तको जिम्मा लगाइएको छ । माइती नेपाल धनगढीका अनुसारगत आर्थिक वर्षमा बेचबिखन तथा तस्करीको जोखिममा पर्न लागेका १ सय १९ महिलालाई नाकाबाटै आफन्तको जिम्मा लगाएको छ । चालु आर्थिक वर्षमा १३४ जनालाई नाकाबाटै आफन्तको जिम्मा लगाएको छ ।

गत वर्ष भारतका विभिन्न ठाउँबाट १२ महिलालाई उद्धार गरेकामा यस वर्ष एक महिलालाई उद्धार गरिएको छ । यस्तै, गत वर्षको दुई मुद्दामा छ जना जेल परेका छन भने यो वर्षको १० मुद्दामा ३ जना जेल चलान भएका छन् । यस्तै, माइती नेपाल कञ्चनपुरका अनुसार गत आर्थिक वर्षमा बेचबिखन तथा तस्करीको जोखिममा पर्न थालेका २ सय ६ जनालाई नाकाबाटै आफन्तको जिम्मा लगाएको छ । चालु आर्थिक वर्षमा १ सय ६८ जनालाई नाकाबाटै आफन्तको जिम्मा लगाएको छ । गत वर्ष भारतका बिभिन्न ठाउबाट ११ जना महिलाको उद्धार गरेकोमा यस वर्ष १२ जना महिलाको उद्धार भएको छ । यस्तै, यस वर्ष एक मुद्धाका आरोपी एक जना जेल चलान भएका छन् । एक जना महिला अझै बेपत्ता छिन् । अधिकांश युवायुवती दलालको फन्दामा परी गैरकानुनी तवरले वैदेशिक रोजगारीका लागि विभिन्न नाकाबाट भारतको बाटो हँुदै कुवेत, दुवई, इराक, ओमन, इजरायल, तुर्किस्थानलगायतका खाडी मुलुकहरुमा जाने गरेको बताइएको छ । हाल मानव तस्करी तथा बेचबिखन रोक्न प्रहरी प्रशासन, माइती नेपाल, थ्री एन्जल्स, सहासी महिला नेपाल, आफन्त नेपाल तथा साना हात नेपाल लगायतका संस्थाहरुले विभिन्न नाकामै बसेर परामर्श र जाँचबुझ गर्ने काम गरिरहेका छन् ।

महिलामाथि हुने हिंसा र चेलीबेटी बेचविखनका घटनाहरुलाई रोक्न सरोकारवाला निकायले समयमै जनचेतनामूलक कार्यक्रमहरु गर्न जरुरी छ । महिलामाथि हुने घरेलु हिंसाले महिलालाई सामाजिक काम गर्न बाधा पुग्ने गरेको बताइन्छ । महिलालाई घरेलु हिंसा, बेचविखनका घटनाहरुबाट जोगाउनका लागि सुदूरपश्चिमका दुरदराजका गाउँहरुमा जनचेतनाका कार्यक्रमहरु गर्न र विषयगत रुपमा कक्षा सञ्चालन गर्न सामाजिक रुपमा काम गरिरहेका संघसंस्थाहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्