Logo
Logo

इलाम-२ को नतिजाले रास्वपाको भविष्य संकटमा !



काठमाडौं । गत संसदीय निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिसन- ८४ चलाउँदै आएको छ । २०७९ को आमनिर्वाचनबाट  अप्रत्याशित मत हासिल गर्दै चौथो शक्ति बनेको रास्वपाको मुख्य उद्देश्य हो आगामी निर्वाचनमा बहुमत ल्याउने र आफ्नो नेतृत्वमा सरकार बनाउने । 

गत निर्वाचनमा रास्वपा प्रत्यक्षतर्फ ७ क्षेत्रमा निर्वाचित हुँदा ६ वटा निर्वाचन क्षेत्रमा दोस्रो र ५७ वटा निर्वाचन क्षेत्रमा तेस्रो भएको थियो । त्यस्तै समानुपातिकतर्फ रास्वपाले ११ लाख ३० हजार ३ सय ४४ मत पाएको थियो ।  

भर्खरै जन्मिएको पार्टीका लागि यो उपस्थिति विस्फोटक र हस्तक्षेपकारी मानियो । गत वैशाखको उपचुनावले त झनै नयाँ राजनीतिक शक्तिमाथि जनताको ठुलो आशा देखियो, रास्वपाले २ वटा निर्वाचन क्षेत्रमा उपचुनाव जित्यो । 

चितवन–२ र तनहुँ–१ मा आफूले पाएको मतबाट रास्वपाको अभिभारा र महत्वाकांक्षा पनि बढ्यो । त्यसपछि सुरु भयो, मिसन–८४ । उपचुनावले हौसिएका रास्वपा सभापति रवि लामिछाने २०८४ सालको संसदीय चुनावमा जुनसुकै हालतमा आवश्यक बहुमत ल्याउने र एकल नेतृत्वको सरकार बनाउने उद्घोष नै गरे । 

त्यसपछि सामाजिक सञ्जालदेखि चिया पसलसम्मै रास्वपाको मिसन–८४ को चर्चा सुरु हुन थाल्यो । रास्वपाले विभिन्न कार्यक्रम आयोजना गरी ‘मिसन–८४’ भन्दै हिँडेपछि प्रमुख पार्टीहरू पनि अतालिए । 

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको दलहरू पनि मिसन– ८४ चलाउन बाध्य बन्यो । 

मिसन–८४ चलाइरहेको दलहरूले इलाम– २ को उपनिर्वाचनलाई प्रतिष्ठाको विषय नै बनायो । उपनिर्वाचनको प्रचारप्रसारमा शीर्ष नेताहरूको खटाइले आउँदो २०८४ को संसदीय निर्वाचनको त्रास प्रस्टै हुन्छ । 

चितवन र तनहुँको उपनिर्वाचन नतिजाबाट हौसिएको रास्वपा पूर्वी नेपालमा पनि जित निकालेर ८४ सालमा आफ्नो उदय हुने बिगुल फुक्न चाहन्थे । 

सुरुमा रास्वपाले इलाम–२ मा आफ्नो उम्मेदवार नै नउठाउने सोच बनाएको थियो । संगठन नभएको र कम प्रभाव भएको ठाउँमा उम्मेदवार उठाएर पराजित भए मिसन–८४ मा धक्का लाग्ने रास्वपाको बुझाइ थियो ।

त्यसैले वस्तुगत स्थिति बुझ्न रास्वपाले इलाम–२ को ६ पालिकामा आफ्ना ६ सांसदलाई पठायो । केन्द्रीय सदस्य एवम् सांसदहरू सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाहले फाकफोकथुम गाउँपालिको बस्तुगत अध्ययन गरेका थिए । 

सो अध्ययन पछि रास्वपाले स्वतन्त्र उम्मेदवार घोषणा गरेर प्रचारप्रसारमा लागिसकेका पत्रकार मिलन लिम्बूलाई पार्टीमा भित्र्याएर आफ्नो उम्मेदवार बनाउँदा राम्रो हुने निष्कर्ष निकाल्यो । 

मिलनले पनि एक्लै निर्वाचनमा जानुभन्दा उदाउँदो पार्टी रास्वपाको उम्मेदवार हुँदा केही सहज हुने निष्कर्ष निकाले र रास्वपाको उम्मेदवार बन्न तयार भए । तर, कट्टर पहिचानवादी भनेर चिनिएका मिलन पहिचानविरोधि पार्टीको रूपमा चित्रित भएको रास्वपाको उम्मेदवार भएपछि उनलाई उल्टै ब्याक फायर भयो । 

स्वतन्त्र उम्मेदवार घोषणा गर्दा साथ दिन प्रायः सबैले मिलनको साथ छोडे भने मिलनलाई जिताउन रास्वपाको सिंगो टिम नै लाग्यो । मिलनको लागि भोट रास्वपाको सबै मन्त्री र नेताहरू इलाम पुगेका थिए । 

प्रचारकै क्रममा रास्वपाका नेताहरूले २० बाट २१, २१ बाट २२ हुँदै आगामी चुनावमा बहुमतको सरकार भनेका थिए । तर, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि मिलनलाई र रास्वपा दुवैलाई अप्ठ्यारो पार्याे । भोट माग्न जाँदा पनि मतदाताले सोही प्रश्न सोधेर अप्ठ्यारो पार्ने गरेका थिए ।

इलाममा मिलनलाई जिताउन रास्वपाको आफ्नो सबै सारा शक्ति लगाएपनि अपेक्षित मत ल्याउन सकेन । अहिले इलाम–२ को मतगणना जारी नै भएपनि रास्वपाले नजित्ने निश्चित भइसकेको छ । 

इलाममा मिलन पराजित हुने भनेको एक निर्वाचन क्षेत्रमा पराजित हुनु मात्रै होइन, रास्वपाको मिसन–८४ मा पनि ठुलो धक्का लाग्नु हो । त्यसैले झट्ट हेर्दा इलामको उपनिर्वाचनमा मिलनको हार भएपनि रास्वपाको भविष्यमाथि ठुलो प्रश्न उठेको छ । इलाम–२ को नतिजाले रास्वपाको भविष्य र भावी राजनीति दिशा समेत कोरिएको छ । 

अहिले कोशी प्रदेशमा पहिचानको लडाइँ चलिरहेको छ । अब ८४ मा हुने निर्वाचनमा रास्वपाले पहिचानको मुद्दालाई कसरी लेला भन्ने चासो पनि हुन थालेको छ । इलाम–२ को उपनिर्वाचनले पहिचानको मुद्दा पनि कमजोर छैन भन्ने पुष्टि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्