Logo
Logo

सरकार गठनको रस्साकस्सी, निर्णायक भूमिकामा माओवादी



काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको अन्तिम नतिजा घोषणा नहुँदै दलहरु नयाँ सरकार गठनको रस्साकस्सीमा लागेका छन् ।

प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमध्ये १६४ को नतिजा आइसक्दा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल सुरु गरेका हुन् ।

यस निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि प्रमुख दलका शीर्ष नेताहरु औपचारिक तथा अनौपचारिक भेटघाट र संवादमा जुटेका छन् । तर, नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा नेकपा माओवादी केन्द्र निर्णायक भूमिकामा देखिन्छ ।

नेपाली काँग्रेसले आफुले प्राप्त गरेको सीटका आधारमा मात्रै सरकार गठन गर्न सक्दैन । उसले ५७ सीट जितेको छ । त्यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत प्राप्त गरेको सीटका आधारमा सरकार बनाउन सक्दैन । उसले ४४ सिटमा जित निकालेको छ । यी दुई दललाई नयाँ सरकार निमार्णका लागि अन्य दलसँगको सहकार्य आवश्यक पर्ने हुँदा माओवादी केन्द्र निर्णायक देखिएको हो ।

त्यस्तै, काँग्रेसका संस्थापन (देउवा पक्ष) गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन् भने काँग्रेसकै संस्थापनइतर (शेखर कोइराला पक्ष) गठबन्धनभन्दा बाहिर रहेर सरकार बनाउने तयारीमा देखिन्छन् । तर, निर्वाचनमा सँगै गएको सत्ता गठबन्धनमा सोचेअनुरुप मत नआएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धन तोड्ने मुडमा देखिन्छन् ।

एमालेले माओवादी केन्द्रसँगै सहकार्य गरेर सरकार गठनका लागि गृहकार्य सुरु गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आगामी सरकार निर्माणमा सहकार्य गर्न प्रस्ताव गरिसकेका छन् ।

यता, माओवादीले औपचारिक निर्णय नै गरेर अन्य दलसँग नयाँ सरकार गठनको विकल्प खुला गरेको जनाएको छ । यस्तो अवस्थामा माओवादीले एमालेसँग सहकार्य गर्ने प्रवल सम्भावना देखिन्छ । तर, आफूले प्रधानमन्त्री पाए वर्तमान सत्ता गठबन्धन नतोड्ने माओवादीका एक नेताले बताए ।

सरकार बनाउनका लागि कम्तीमा १३८ सी चाहिन्छ । तर, एमाले र कांग्रेस दुवै दलले पाएको सीट संख्याले उनीहरुलाई सरकार बनाउन बहुमत पुग्दैन । उनीहरुलाई अन्य दलका सांसदको समर्थन आवश्यक पर्छ ।

कांग्रेसले ५७ सीट जितेको छ । यता, दोलखामा माओवादीले जिते उसको सिट संख्या १८ हुनेछ । तर, एमालेले जिते एमालेका सीट संख्या ४५ हुनेछ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ सीट जितेका छन् । लोसपाले ४, नागरिक उन्मुक्तिले ३, नेमकिपा र जनमोर्चाले एक–एक तथा ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

समानुपातिकतर्फको अन्तिम परिणाम आउन बाँकी छ । यद्यपी, सातवटा पार्टीले थ्रेस होल्ड कटाइसकेका छन् । त्यसैले यी सात पार्टीले पाउने सम्भावित सीट संख्या अनुमान गर्न गाह्रो छैन । समानुपातिकमा सबैभन्दा धेरै मत पाएको एमालेले कम्तीमा ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १४, राप्रपाले ७, जसपा र जनमतले ४–४ सीट पाउने सम्भावना छ । यद्यपी, एक दुई सीट तलमाथि हुनसक्छ ।

यसअनुसार कांग्रेसको जम्मा सीट ८९, एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, राप्रपाको १४, जसपाको ११ र जनमतको ५ सीट हुनेछ ।

एमाले र माओवादीबीच सहकार्य भएमा अहिलेसम्मको परिदृष्यअनुसार यो गठबन्धनमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, जसपाको ११ सीट गरेर १३५ सिट हुने देखिन्छ । यस्तो अवस्थामा माओवादीको भूमिका निर्णायक हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्