Logo
Logo

स्पेनका प्रशिक्षक इनरिकेले दिए राजीनामा


945
Shares

काठमाडौं । कतार विश्वकपको अन्तिम–१६ मा मोरक्कोसँग पेनाल्टी सुटआउटबाट पराजित भएपछि स्पेनका प्रशिक्षक लुइस इनरिकेले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार इनरिकले राजीनामा दिएको जानकारी दिँदै स्पेन फुटबल संघले भनेको छ, “पछिल्लो वर्षमा स्पेनको राष्ट्रिय टिमलाई बलियो बनाएकोमा लुइस इनरिके र उनको कोचिङ स्टाफलाई धन्यवाद । उनको सुन्दर भविष्यका लागि शुभकामना ।”

५२ वर्षीय इनरिकेले २०१८ मा स्पेनमा राष्ट्रिय फुटबल टिमको जिम्मेवारी सम्हालेका थिए । उनको प्रशिक्षणमा स्पेन युरो २०२० को सेमिफाइनलसम्म पुगेको थियो । कतार विश्वकपको अन्तिम–१६ मा स्पेन पेनाल्टी सुटआटमा ३–० ले पराजित भएको थियो । यरो कपमा पनि स्पेन इटालीसँग पेनाल्टी सुटआउटमै पराजित भएको थियो ।

स्पेन यूईएफए नेसन्स लिगको फाइनलमा पनि फ्रान्ससँग पराजित भएको थियो । स्पेनिस फुटबल संघले अब “नयाँ परियोजना” सुरु गर्नुपर्ने बताएको छ । तर, नयाँ प्रशिक्षकको घोषणा कहिले हुन्छ भन्ने समयसीमा भने तोकेको छैन ।

कतार विश्वकपको समूह ‘ई’मा रहेको स्पेनले लिग चरणमा कोस्टारिकालाई ७–० ले हराएको थियो भने जर्मनीसँग १–१ को बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा स्पेन जापानसँग २–१ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्