नयाँदिल्ली । बंगालको खाडीबाट उत्पन्न शक्तिशाली ‘अर्णव’ चक्रवातले भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ।

काकिनाडा र पुडुचेरीको यानमबीचको तटीय क्षेत्रमा बुधबार बिहान यो आँधी भीषण रूपमा ठोक्किएको थियो। यसको प्रभावबाट सिर्जित वर्षा र हावाहुरीले हाल दुईवटा राज्यमा ठूलो क्षति निम्त्याएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार अति तीव्र बनेको यो चक्रवात अहिले केही कमजोर भएको छ, तर यसले निम्त्याएको हावाहुरी र वर्षाको प्रभाव अझै कायम छ।
चक्रवात उत्तर–पश्चिम दिशातर्फ सर्ने क्रममा प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर र कहिलेकाहीं १५० किलोमिटरसम्मको गतिमा हावा चलेको थियो। विशाखापट्टनम र अनाकापल्ली जिल्लाहरूमा २०० मिलिमिटरभन्दा बढी अति भारी वर्षा रेकर्ड गरिएको छ।
आन्ध्र प्रदेशमा आँधीहुरी र बाढीका कारण ३ जनाको मृत्यु भएको पुष्टि भएको छ। घटनाका कारण हजारौं रुखहरू ढलेका छन् भने सडक तथा विद्युत् सेवा ठप्प भएको छ।
सुरक्षालाई ध्यानमा राख्दै आन्ध्र प्रदेशबाट करिब ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। छिमेकी राज्य ओडिशामा पनि ३० हजारभन्दा बढी सर्वसाधारणलाई शिविरहरूमा स्थानान्तरण गरिएको छ। उद्धार तथा राहतका लागि राष्ट्रिय र राज्य विपद् व्यवस्थापन टोली परिचालन गरिएको छ।
मौसम विभागले ओडिशाका गजपति, गंजाम, रायगडा, कोरापुट, नबरंगपुर र मालकानगिरि जिल्लामा अति भारी वर्षाको चेतावनीसहित ‘रेड अलर्ट’ जारी गरेको छ। यी क्षेत्रमा प्रतिघण्टा ६० देखि ८० किलोमिटर र केही स्थानमा ९० किलोमिटरको बेगमा हावा चल्ने अनुमान गरिएको छ।
यसैगरी, कालाहांडी, कांधमाल, पुरी र खुर्धालगायत १० वटा जिल्लामा पनि भारी वर्षाको सम्भावनासहित सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रशासनले तटीय क्षेत्रका बासिन्दाहरूलाई अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन, पुराना रुखहरू, विद्युतीय पोल र होर्डिङ बोर्डहरूबाट टाढा रहन आग्रह गरेको छ।















