
बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवलको अस्पताल लाइन क्षेत्रमा गाडी रोक्न प्रतिबन्ध लागाएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरुसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले बुटवल नगरलाई सफा र सुन्दर बनाउन तथा भीडभाड कम गर्दै ट्राफिक व्यवस्थापन गर्न बुटवलका व्यस्त चोक तथा अत्यावश्यक सेवा क्षेत्र आसपासमा भीड कम गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
बैठकले बुटवलका मुख्य सडकहरुको पार्किङ व्यवस्थापन गर्ने, राजमार्ग क्षेत्रमा रहेका टिकट काउण्टरहरु एकीकृत गरी बसपार्कभित्रै व्यवस्थापन गर्ने, लामो तथा छोटो दुरीका सवारी साधनले यात्रु चढाउने र ओराल्ने स्थान तय गर्ने जस्ता निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।
उनका अनुसार बैठकले बसपार्कभित्र पार्किङ नगरी बस छुट्नुभन्दा एक घण्टा अघिमात्रै बसपार्कभित्र प्रवेश गर्ने, प्रत्येक टिकट काउण्टरले डस्टविन राखी अन्यत्रको फोहोर व्यवस्थापन गर्ने, बस तथा जीप सञ्चालक संस्थाहरुले सवारी चालक र सहयोगीलाई अनिवार्य रुपमा परिचय पत्रको व्यवस्था गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले बुटवलमा सञ्चालन हुनेगरी थप १८४ इरिक्सालाई दर्ताका लागि आह्वान गर्ने र दर्ता नगरी सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ । ‘बुटवलमा १४ सय ४० वटा इरिक्सा सञ्चालन गर्ने भनिएको छ। यसअघि १२ सय ५६ वटा इरिक्सा दर्ता हुन आएकोमा बाँकी १८४ वटा इरिक्सा दर्ताका लागि आह्वान गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले जनाएको छ ।
यसैगरी, अस्पताल क्षेत्रमा हर्न बजाउन निषेध गर्ने, मोडीफाई गरेका, स्वरुप परिवर्तन गरेका मोटरसाईकल चलाउन निषेध गर्ने निर्णय बैठकले गरेको छ । बुटवल क्षेत्रमा बस, जीप, इरिक्सा व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका, यातायात व्यवस्था कार्यालय, इलाका प्रहरी कार्यालय, राजमार्ग ट्राफिक सुरक्षा तथा व्यवस्थापन कार्यालय, बस, जिप, इरिक्सा सञ्चालक संस्थाहरुले एकीकृत रुपमा सुधार अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयसहित, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, यातायात व्यवस्था कार्यालय, इलाका प्रहरी कार्यालय, राजमार्ग ट्राफिक सुरक्षा तथा व्यवस्थापन कार्यालय, बस, जीप, इरिक्सा सञ्चालक संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।











