Logo
Logo

के प्रचण्ड प्रधानमन्त्री बन्दै छन् ?


14.5k
Shares

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः प्रधानमन्त्री पदको निकट पुर्याएको देखिन्छ ।

राष्ट्रपतिले प्रधानमन्त्री दाबी गर्न आह्वान गरेको समय सकिन लाग्दा सत्तारूढ दल करिबकरिब सहमति नजिक पुग्न लागेको बुझिन्छ । यस्तो अवस्थामा कांग्रेस प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्ने अवस्थामा पुगेको बुझ्न सजिलो हुन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच अनपेक्षित रूपमा विकसित सौहार्दता पनि यो वातावरण बल पुगेको हुनसक्ने विश्लेषण गरिन्छ । यद्यपि, गठबन्धनले आधिकारिक निर्णय नगरेसम्म यसो नै हुन्छ भन्ने टुङ्गो छैन ।

बुधबार र बिहीबार दुई कार्यक्रममा प्रचण्ड–ओलीको सौहार्दता निक्कै गज्जबको देखियो । उक्त सौहार्दता औपचारिक मात्र थियो या सन्देहात्मक ? उनीहरूलाई नै थाहा हुनुपर्छ । तर, ओली–प्रचण्ड हाउभाउले भने शेरबहादुर देउवाको मनमा नमज्जाले हुरीबतास चलायो ।

देउवा बारम्बार भन्ने गर्छन्– ‘एमाले र माओवादी मिले हामीलाई ०२७४ कै अवस्थामा पुर्याउँछन् । त्यसैले माओवादीप्रति नकारात्मक धारणा राख्नु हुँदैन ।’

अर्थात, वर्तमान गठबन्धनबाट माओवादी अलग्गिए पुनः सत्ताबाहिर बस्नुपर्ने वास्तविकता देउवाले राम्ररी बुझेका छन् । त्यसैले सकेसम्म माओवादीका लागि त्याग गर्न देउवा तयार हुँदै आएका छन् । र, यसपटक पनि देउवा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न तयार हुनसक्छन् ।

यदि, देउवा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न तयार हुने हो भने प्रचण्ड प्रधानमन्त्री हुने पक्का छ । यस्तो अवस्थामा कांग्रेस महत्वपूर्ण पदहरू लिएर सत्तामै रहन सक्छ ।

एमाले र माओवादीबीच जारी संवादले पनि कांग्रेसलाई थप दबाबमा पारेका छ । किनकी, निर्णायक शक्ति माओवादी र दोस्रो शक्ति एमाले मिल्दै केही साना दलको साथ लिँदा कांग्रेस सत्ता बाहिर हुन्छ ।

तर, पछिल्लो गतिविधिले वर्तमान गठबन्धनलाई भत्कन नदिने संकेत गर्छ । गठबन्धनको एकता कायम गर्न कांग्रेस र माओवादीका नेता सक्रिय छन् । र, प्याकेजमै सहमति गरेर अघि बढ्ने सम्भावना बढेको छ ।

यस्तो अवस्थामा माओवादीले प्रधानमन्त्री, कांग्रेसले राष्ट्रपति र एकीकृत समाजवादीले उपराष्ट्रपति वा सभामुख पाउने हिसाबले छलफल अघि बढेको छ ।

प्रस्तुत छलफलमा सहमति जुट्ने हो भने वर्तमान सत्ता गठबन्धन कायम रहन्छ । र, आगामी पाँचै वर्ष सत्ता एमालेको हातमा पुग्ने सम्भावना कम हुँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस्