काठमाडौं । नवनियुक्त प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीलाई पनि आफ्नो नेतृत्वको सरकारमा सहभागी गराउन सक्ने बताएका छन् ।
प्रधानमन्त्री नियुक्तिपछि सोमबार पहिलोपटक बसेको पदाधिकारी बैठकमा बोल्दै उनले सरकारमा सहभागीबारे एकीकृत समाजवादीका अध्यक्षसँग छिट्टै छलफल गर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘माधव नेपालजीको पार्टीलाई पनि सरकारमा सहभागी गराउन सकिन्छ । तर, त्यसबारे वर्तमान गठबन्धनबारे उहाँको धारणा बुझ्न बाँकी छ ।’ एकीकृत समाजवादी नयाँ गठबन्धनबारे सकारात्मक रहेको भन्दै सरकारमा ल्याउन कुनै कठिनाइ नभएको उनले बताए ।
कांग्रेस नेतृत्वको रवैयाका कारण पाँच दलीय सत्ता गठबन्धन टुटेको समेत उनले बताए । उनले भने, ‘देउवाजीले झुलाउने काम मात्रै गर्नुभयो । राष्ट्रपतिले दिएको समयसीमा पनि टार्ने वातावरण देखेपछि बालकोट पुगेँ ।’
संसदको १ सय ६९ सांसदको समर्थनमा प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले आजै अपरान्ह चार बजे प्रधानमन्त्रीको शपथ ग्रहण गर्दैछन् ।














