काठमाडौं । पुर्खाहरूले ठिकै भनेका रहेछन्- ‘आफ्नो कान छाम्नु छैन, कागको पछाडि दौडने ।’
‘कागले कान लग्यो, कान लग्यो ।’ मान्छेहरू कराउँछन् । काग आकासतिर उडिरहेको छ । सबै कागलाई लखेट्न पछिपछि दौडन्छन् । कागले कसको कान लग्यो ? कसैलाई थाहा छैन । सबैको कान सही हालतमै छ । तर, कागको पछाडि दौडन छाडेका छैनन् ।
हो, यो प्रवृत्ति अहिले मौलाएको छ ।
सन्दर्भ-
हिजो (बिहीबार) सामाजिक सञ्जालमा एउटा अफवाह फैलियो । त्यो थियो– ब्राजिलका विश्वविख्यात फुटबलर पेलेको मृत्यु ।
पेलेलाई श्रद्धाञ्जली दिनेको ओइरो लाग्यो । कहिल्यै फुटबल नहेर्नेहरुले पनि श्रद्धाञ्जली दिए । उनलाई राम्रोसँग नचिन्नेहरूले पनि लेखे– ‘रीप लेजेण्ड ।’
त्यो अफवाह सामाजिक सञ्जालमा ‘एक्टिभ’ हुनेले नदेख्ने कुरै भएन ! पूर्वउपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि देखे ।

उनले पत्याइहाले । मनमा कपे । र, अरुको मनछुने गरी लेखे– ‘फुटबल जगतका सर्वाधिक लोकप्रिय खेलाडी, फुटबल खेलाडीको रुपमा मेरो आदर्श पेलेको निधनको खबर सुनेर साह्रै दुःख लागेको छ । हार्दिक श्रद्धाञ्जली ।’
यतिले मात्रै अरुलाई भावुक नबनाउला कि भन्ने लाग्यो । त्यसपछि अंग्रेजीमै थपे– ‘लङ लाइभ पेले, द इम्पेरर अफ फुटबल ।’
पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतले पनि देखे । उनले कमल थापाले भन्दा बढी मनमा खिपे । प्रेम प्रस्ताव राखेको भन्दा बढी !
लेखे– ‘विश्व फुटबल जगतका सदावहार सर्वकालिक खेलाडी पेले जसको खेल हेर्न युद्ध नै बन्द भएको थियो, २२औँ चरणको विश्वकप फुटबलको अन्यसँगै यी महान तारा पनि अस्ताए । फुटबलको एक युगको अन्त्य भएको छ । युगौँ युगले सम्झनेछ । महान फुटबलर पेलेप्रति हार्दिक श्रद्धाञ्जली !

अफवाह त्यतिमै रोकिएन । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वसहायक महासचिव बसन्त अर्यालसम्म पनि पुग्यो । उनले पनि पेलेको तस्वीर राख्दै लेखे– ‘एउटा युगको अन्त्य फुटबलका महान सम्राट पेलेको दुःखद निधन ।’
अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष ऐन महरले समेत पेलेलाई श्रद्धाञ्जली दिन भ्याए । पेलेलाई श्रद्धाञ्जली र अब एम्बाप्पे युगको सुरुवात भएको बताए ।
तर, खबर भ्रामक रहेको भनेर कमेन्ट आएपछि लज्जित हुँदै उनीहरूले पोस्ट हटाए ।
हुन त सामाजिक सञ्जालमा पछिल्लो समय अनेकौं अफवाह फैलिने गरेका छन् । सन् २०१९ मा समेत पेलेको मृत्युलाई लिएर यस्तै अफवाह फैलिएको थियो ।
पेले अहिले बिरामी छन् । उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । अस्पतालमा क्यान्सरको उपचार गराइरहेका पेलेलाई क्रिसमसमा पनि घर लगिएको थिएन । उनको परिवारले अस्पतालमा नै क्रिसमस मनाएको थियो ।
हतारो किन ?
श्रद्धाञ्जली मान्छेको भावनासँग गाँसिएको हुन्छ । तर, मान्छेलाई यति हतारो हुन्छ– कहिले मर्ला र हार्दिक द्धाञ्जलीवाला स्ट्याटस पोष्ट्याऊला ! जसको कारण श्रद्धाञ्जली भन्ने शब्द नै लज्जित बनिसक्यो ।
कुनैपनि कुरा सही हो वा होइन ? गलत हो वा होइन ? छुट्याउनका लागि हामीले ल्याब टेस्ट गरिरहनु आवश्यक छैन । कुनै प्रयोगशालामा पुर्याउननु पनि आवश्यक छैन ।
किनभने प्रकृतिले हामीलाई चेतना, विवेक दिएको छ । तर, आज हामी विवेक र चेतनाको बिर्को लगाएर हल्लाको पछाडि दौडिरहेका छौं ।
बुढापाकाले त्यसै भनेको होइन रहेछ– आफ्नो कान छाम्नु छैन ?
अरुले जे भन्छ, हामी पनि त्यही भनिरहेका छौं । अरुले जे गर्छ, हामी पनि त्यही गरिरहेका छौं । विवेक र चेतना नै हरायो १
यदि, विवेक र चेतना नगुमाएका भए अरुको हल्लाको पछाडि दौडने नै थिएनौं । कसैले केही भन्छ, केही गर्छ भने सही के हो रु यार्थाथ के हो रु भने सोच्थ्यौँ ।
भन्छन्– १० पटक सोच्नु, एकपटक काट्नु । हो, हरेक कुरालाई पटकपटक सोच्नुपर्छ । जाँच गर्नुपर्छ । मन्थन गर्नुपर्छ ।
मृत्यु जस्तो कुरा सामान्य होइन । कागले कान लग्यो भन्दै कागको पछाडि कुद्नु हुँदैन । आफ्नो विवेक पनि प्रयोग गर्नुपर्छ ।














